सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

  जेठ १०, २०७९

सप्तरी, जेठ १० : स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच पालिकामा प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ । कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि जित हासिल गरेको सुरुङ्गामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेसका जिल्लाअध्यक्ष रामदेव साह बताउनुहुन्छ । यसअघि जितेको विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्षमा भने विजयी भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ ।

अघिल्ला स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । तीमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । अघिल्लो निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यहाँ अहिले लोसपाले जितेको छ ।

तत्कालीन सङ्घीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो । जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहेका थिए । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्षले मात्र लोसपा रोजे ।

तपाईको प्रतिक्रिया