दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

  जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ । यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो ।

सार्वजनिक तथ्याङ्कअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा रु १२ खर्ब ५४ अर्ब मूल्य बराबरका बस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु १६ खर्ब चार अर्ब पुगेको छ ।

त्यस्तै २०७७÷७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म रु एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका बस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु एक खर्ब ७३ अर्ब बढी मूल्यका बस्तुको निर्यात भएको छ ।

विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ । चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया