कैलालीका पालिका : पदभार ग्रहणसँगै महत्वपूर्ण निर्णय

  जेठ १०, २०७९

टीकापुर,  जेठ  १० : कैलालीका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिले पदभार ग्रहणसँगै पालिका विकासका लागि महत्वपूर्ण निर्णय गरेका छन् । कैलालीमा एकमात्र महिला प्रमुख रहेको लम्कीचुहा नगरपालिकाले छोरी जन्माउने आमालाई रु दुई हजार प्रोत्साहन भत्ता दिइने निर्णय गरेको छ ।

कैलालीको लम्कीचुहा, धनगढी महानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका लगायतका क्षेत्रमा जनप्रतिनिधिले सोमबार पदभारसमेत ग्रहण गरेका छन् । केही पालिकामा भने आज पदभार ग्रहण गर्ने कार्यक्रम छ । लम्कीचुहामा प्रमुख र उपप्रमुख दुबै पदमा महिला निर्वाचित हुनुभएको छ ।

लम्कीचुहा नगरपालिकाका प्रमुख सुुशीला शाहीले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गर्नुभएको छ । आर्थिक वर्ष २०७९÷८० भित्र सुकुम्वासीलाई लालपूर्जा वितरण गरिसक्ने, नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग र नगरका विभिन्न चोकमा सडक बत्तीसहित सिसी क्यामेरा जडान गर्ने र छोरीको महत्व बढाउन नगरभित्र छोरी जन्मिएमा प्रोत्साहनस्वरुप रु दुई हजार भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

पदभार ग्रहणपछि बोल्दै शाहीले नगरपालिकालाई भ्रष्टचारमुक्त पालिका बनाउने गरी काम गर्ने बताउनुभयो । कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख दुबै पदमा महिला भएकाले यो पालिकालाई सबैले महत्वका साथ हेरेका छन् । लम्कीचुहामा प्रमुखमा नेपाली कांग्रेसबाट शाही र उपप्रमुखमा नेकपा एमालेका जुना शाही विजयी हुनुभएको छ ।

धनगढी उपमहानगरपालिका नवनिर्वाचित प्रमुख गोपाल हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हाल्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गर्नुभएको फाइलमा हस्ताक्षर गर्दै पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी प्रस्ताव सदर गर्नुभएको हो ।

हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गर्नुभएको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९÷८० देखि २०८३÷८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ ।

तपाईको प्रतिक्रिया