मोरङ, जेठ ९ : मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मोरङ जिल्लाका स्थानीय पालिकाका नव निर्वाचित महानगर प्रमुखसहित जनप्रतिनिधिहरुलाई आज यहाँ शपथ गराउनुभयो । उक्त अवसरमा मोरङका एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका गरी १७ पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई उहाँले पद तथा गोपनियताको शपथ गराउनुभयो ।
यसैगरी सोही अवसरमा विराटनगरका महानगरपालिका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्की, महानगरका १९ वटाका वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो । मोरङका मुख्य निर्वाचन अधिकृत लम्सालले पालिका निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित स्वच्छ वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने आम मतदाता, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुलाई धन्यवाद दिनुभयो ।
महानगर प्रमुख कोइरालाले मत बदरलाई हटाउन प्रदेश प्रदेशको अलग मत पत्र तयार भएमा सर्वसाधारण नागरिकलाई मत खसाल्न सहज हुने बताउनुभयो । उहाँले मत बदर हुन नदिन निर्वाचन आयोगले निर्वाचन मिति घोषण भएपछि मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था दरिलो बनाइएका कारण जिल्लामा कुनै अप्रिय घटना नभएको भन्दै निर्वाचनमा निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिनुभयो ।
विराटनगर महानगरपालिकाका उपप्रमुख कार्की र कानेपाखरी गाउँपालिकाका अध्यक्ष राजमती इङगनामले जनप्रतिनिधिहरुले जनताको चाहना र आवश्यकतामा केन्द्रित रही विकास निर्माणको कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा राजनीतिक दलले महिला प्रतिनिधि अभिवृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।
विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख कोइरालाले आजै पदभार ग्रहण गर्दै नगरवासीको हितमा करको दायरा फराकिलो पारी कर घटाउन आफ्नो सङ्कल्पअनुसार काम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।