जनकपुर, जेठ ७ : धनुषाको थप पाँच पालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक भएको छ । तीमध्ये चारवटा पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । योसँगै धनुषाको १८ मध्ये १६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । केही बेरअघि सार्वजनिक धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका प्रदीपकुमार यादव चार हजार ४०९ मत ल्याएर प्रमुुखमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिलकुमार यादवले दुई हजार ९११ मत ल्याउनुभयो । उपप्रमुखमा निर्वाचित कांग्रेसकै दुर्गादेवीले चार हजार ४६५ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका दिपीका क्षेत्रीले दुई हजार ९०३ मत प्राप्त गर्नुभयो । धनुषाको सबैला नगरपालिकाको प्रमुुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका कारीराम यादव चार हजार १२१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसुन्दर साह मधुपले चार हजार ७६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिनुभयो । उपप्रमुखमा निर्वाचित माओवादी केन्द्रकै रहिमा खातुनले चार हजार ६९९ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका किरणकुमार कापरले तीन हजार ६०४ मत ल्याउनुभयो ।
धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा चार हजार ३०४ मत ल्याएर कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिलकुमार यादवले चार हजार ९४ मत ल्याउनुभयो । उपप्रमुखमा माओवादीका शोभादेवी साह तीन हजार ३३० मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अनिता कुमारीले दुई हजार ७९७ मत प्राप्त गर्नुभयो ।
धनुषाको मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनिता सिंह बुढाथोकी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा सात हजार ३१ मत ल्याएर महतो विजयी हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका राजाराम महतोले छ हजार ९४० मत ल्याउनुभयो । उपप्रमुखमा निर्वाचित एमालेका बढाथोकीले सात हजार ४१४ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निर्मला कोइरालाले छ हजार ७३५ मत प्राप्त गर्नुभयो ।
यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका जितनारायण यादव तीन हजार १०८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रमचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुख कांग्रेसकै तुलसाकुमारी पाण्डेले तीन हजार २८३ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना जारी छ ।