धनगढीमा हमालले २० हजार ७७५ मत ल्याउँदा वडलाई १० हजार

  जेठ ०६, २०७९

धनगढी, जेठ ६ : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार राती ९ः३० बजे सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ४७३ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४६ हजार ५६ मत गन्दा हमालले २० हजार ७७५ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १० हजार ३०२ मतसहित हमाललाई पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ५ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा टक्कर भइरहेको छ । अधिकारीले ९ हजार ६४० मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी रानाले ९ हजार २०९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ५७१ मत पाएका छन् ।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ । १७ नम्बरबाहेक मतगणना सकिएका सबै वडामा मेयरका उम्मेदवार हमालले सबैभन्दा बढी मत पाएका छन् ।

तपाईको प्रतिक्रिया