बलेवा, वैशाख ६ : स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका , काठेखोला , बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले विजय हासिल गरेको हो । यसैगरी नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका रे ढोरपाटन नगरपालिको जितेको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढा र निसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।
यसअघि जैमिनी, गलकोट , निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिका , जैमिनी र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।