काठमाडौँ, जेठ ५ : नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पाहुना टोली युगान्डासँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै युगान्डाले दुई खेलअगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता बनाएको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन ।
बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन भने रुबिना क्षेत्री र इन्दु वर्माले समान एक-एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको योगफल बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन । त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले ४ रन जोड्दा रोमा थापा र डोली भट्टले समान ३-३ रन जोडिन । सबनम राई र इन्दु बर्माले १-१ रन जोडिन ।
बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई-दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक÷एक विकेट लिए । पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले भोलि युगान्डासँग चौथो खेल खेल्नेछ ।