तनहुँका आठ पालिकाको नतिजा सार्वजनिक : चारमा एमाले, तीनमा कांग्रेस, एकमा माओवादी

  जेठ ०४, २०७९

दमौली, जेठ ४ : स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकाअध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ ।

एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकीको प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी हुनुभएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । शुक्लागण्डकीको नगर प्रमुखमा कृष्ण पण्डित विजयी हुनुभएको छ ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ, शुक्लागण्डकीको उपप्रमुखमा खुमबहादुर विक विजयी हुनुभएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी हुनुभएको छ ।

शुक्लागण्डकीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जीत हासिल गरेको छ । नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका हुन् ।

नगरप्रमुखमा कांग्रेसका कृष्णराज पण्डित १२ हजार २६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनाले नौ हजार ८४० मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादीका खुमबहादुर विक १० हजार २६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका फूलमाया थापाले नौ हजार ९५७ मत प्राप्त गर्नुभएको छ ।

३८ हजार ३१५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार ९९७ मत खसेको थियो । बाह्र वडा रहेको शुक्लागण्डकीमा नेपाली कांग्रेसले नं १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नं १० जितेको छ ।

तपाईको प्रतिक्रिया