तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक

  जेठ ०४, २०७९

दमौली, जेठ ४ : स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी हुनुभएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी हुनुभएको छ । एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।

तपाईको प्रतिक्रिया