डोटीको पूर्वीचौकी गाउँपालिकामा वडादेखि पालिकासम्म कांग्रेस विजयी

  जेठ ०३, २०७९

डोटी, जेठ ३ : डोटीको पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र वडासदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालीका अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले पाँच हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । जुन सदर मतको ६७ दशमलव ५६ प्रतिशत हो । यहाँ कूल आठ हजार २५६ मत खसेको थियो । जसमध्ये सात हजार ५९७ मत सदर भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णकुमार खड्काले दुई हजार २०५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्काले चार हजार ७२४ मत प्राप्त गरी विजयी हुनुभएकी छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गर्नुभएको छ ।

वडाध्यक्षमा कांग्रेसकै उम्मेदवार वडा नं १ मा अङ्कबहादुर खड्का, वडा नं २ मा योगेन्द्रबहादुर ठकुल्ला, वडा नं ३ मा खड्कबहादुर धामी, वडा नं ४ मा बलबहादुर खड्का, वडा नं ५ मा खड्कबहादुर साउँद, वडा नं ६ मा पुष्पराज जोशी तथा वडा नं ७ मा प्रेमबहादुर खड्काको प्यानल विजयी भएको छ । यसअघि विसं २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित हुनुभएको थियो । तत्कालीन अवस्थामा कांग्रेसले पाँचवटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा भने पराजित भएको थियो ।

आदर्श गाउँपालिकामा कांग्रेस विजयी

डोटीको आदर्श गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडामा नेपाली कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ । खड्का तीन हजार ७७३ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डम्बर ओलीले तीन हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार योगेन्द्रबहादुर खड्काले ९०७ मत मात्रै प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद ओझा १३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी धामी (रोकाया) ले तीन हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी जानकी खड्काले तीन हजार ३८९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रमेश विष्टले ३३३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता साउँदले १७२ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सातवटा वडा रहेको आदर्श गाउँपालिकामा चार वडामा कांग्रेस र तीन वडामा एमाले विजयी भएको छ । वडा नं १ मा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का, वडा नं २ मा एमालेका उम्मेदवार रमेश साउद र वडा नं ३ मा एमालेकै वीरेन्द्रप्रसाद पाठक, वडा नं ४ मा कांग्रेस राजेन्द्र ओझा, वडा नं ५ मा कांग्रेसकै उत्तमबहादुर सिंह, वडा नं ६ मा एमालेका लालबहादुर खडायत तथा वडा नं ७ मा कांग्रेसका उम्मेदवार लालबहादुर विष्ट विजयी हुनुभएको निर्वाचन अधिकृत दुर्गादत्त विष्टले जानकारी दिनुभयो । विसं २०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडासहित एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो ।

तपाईको प्रतिक्रिया