सिन्धुपाल्चोक, जेठ ३ : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । उहाँका प्रत्याशी नेकपा (एमाले)का इन्द्र नेपालले छ हजार ७११ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) की सीता थापा नौ हजार ७२६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी एमालेकी बालकुमारी सापकोटाले छ हजार ५११ मत ल्याउनुभयो । चौतारामा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा पनि यहाँ माओवादी केन्द्रले जितेको थियो ।
इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
जिल्लाको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका तर्फबाट उम्मेदवार रहेका झम्कनाथ नेपाल विजयी हुनुभएको हो । नेपाल सात हजार १२७ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विकास लामा छ हजार १५२ मत ल्याउनुभएको थियो । त्यस्तै अध्यक्ष पदमा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठलाई ४१३४ मत प्राप्त भएको थियो ।
उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ५१३ मत ल्याउनुभयो । कांग्रेसकी दयाकुमारी मिश्र छ हजार ४६३ मत ल्याउँदै दोस्रो हुनुभयो ।
इन्द्रावती गाउँपालिकामा १२ वडा रहेको छ । वडा नं १, ३, ५, ६ र ९ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ४, ८, १० र ११ मा कांग्रेस र ७ र १२ मा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । विसं २०७४ मा यहाँ अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।