लहान, जेठ ३ : धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गर्नुभएको छ भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी हुनुभएको हो ।
साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो । पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन् ।
यसैगरि धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित हुनुभएको हो । यादवले नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गर्नुभएको छ भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गर्नुभएको छ । ६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन् ।