ललितपुर, जेठ ३ : धापाखेलका राजु महर्जन चार दिनयता दैनिक जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान आइपुग्ने गर्नुहुन्छ । ललितपुर महानगरपालिकाको मतगणना भइरहेको सो प्रतिष्ठानको बाहिर बसेर भित्रको नतिजा थाहा पाउने तथा परिवार, आफन्त र साथीभाइलाई जानकारी दिनु उहाँको दिनचर्या बनेको छ ।
आफूले भोट हालेको पार्टीका समर्थकसँग दिनदिनै बसेर चिया खाँदै दिन कटाएको महर्जन बताउनुहुन्छ । स्नातकोत्तर अध्ययनरत उहाँ आफूले भोट दिएका व्यक्तिले जित्लान कि नजित्लान भन्ने चासोले गर्दा घरमा बस्न नसकेको सुनाउनुहुन्छ । मत परिणाम आउन ढिला हुँदा महर्जन र उहाँजस्तै सरोकारवाला सबै हैरान छन् । कर्मचारी थपेर पनि चाँडो गणना सकाउनुपर्नेमा उहाँको जोड छ । अहिले २ र ३ वडाको मत गनिरहेकाले र आफ्नो वडा २४ नम्बरमा पुग्दा अझै धेरै दिन लाग्नसक्ने महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गर्भमा बसेको बच्चा १०, ११ महिनासम्म जन्मन नपाएको जस्तो भयो, भोट हालेको १०÷१५ दिन कुर्नुपर्ने भयो ।”
गाबहालकी सुनिता शाक्य पनि सन्तान बोकेरै जावलाखेल पुग्नुभएको भेटिनुभयो । आफ्नो दिदी नै उम्मेदवार भएकाले चासो बढी लागेको उहाँ बताउनुहुन्छ । चर्काे घाममा छाता ओढ्दै शाक्य मत परिणामको प्रतीक्षामा हुनुहुन्थ्यो । चाँडो नतिजा आए जे भए पनि ढुक्क हुने उहाँको भनाइ छ ।
देशभरका विभिन्न पालिकामा जस्तै ललितपुरका पालिकामा पनि मतगणना सुस्त हुँदा यहाँका मतदाता हैरान छन् । आफूले भोट हालेको चार दिन बित्दा पनि आफ्नो वडाको मतगणना सुरु नहुँदा उनीहरु दैनिक मतगणनास्थल आउने जाने गरेका छन् । सञ्चारमाध्यमबाट मत परिणाम घोषणा हुनास थाहा नहुने भएकाले आफू दैनिक मतगणनास्थल पुगेको यहाँ भेटिने मतदाता बताउँछन् ।
महालक्ष्मी नगरपालिकाको मतगणनास्थल इमाडोलमा भेटिनुभयो टीकाथलीका महेश अधिकारी । शनिबारदेखि नै बिहानै आएर साँझसम्म पनि मतपरिणाम के आउँछ भनी कुरेर बसिरहेको उहाँको पनि उस्तै भनाइ छ । आफूले मतदान गरेको पार्टीले जित्ने आधार देखिएकाले पनि कुरेर बसेको अधिकारी बताउनुहुन्छ । सिङ्गो पालिकाको अन्तिम परिणाम र आफू बस्ने वडाको परिणाम के आउला भन्ने चासो उहाँलाई छ । अधिकारी भन्नुहुन्छ, “अब सबैले जितेपछि वा हार्ने निधो भएपछि मात्र आउन छोड्ने हो ।”
मतगणना सुस्त भएको र बाहिर परिणाम दिन अझै ढिलाइ भएको भन्दै अधिकारी निर्वाचन आयोगले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुहुन्छ । अहिलेसम्म जम्मा एउटा वडा मात्रै मत गणना सकिएकाले सबै सक्न अझै हप्तौँ लाग्नसक्ने देखिएको छ । आफूले हालेको मतको परिणाम थाहा पाउनका लागि धेरैजना घामपानी र दिनरात नभनी लागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जसले जितेपनि अन्तिम रिजल्ट आए त हामी आआफ्नो काममा फर्कन पाउँथ्यौँ ।”