मान्म, जेठ २ : कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ । दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् ।
खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी हुनुभएको हो । उहाँले २७९७ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुनुभयो । पाण्डेले २३६६ मत पाउनुभयो । उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २५१५ ल्याएर विजय हुनुभएको हो ।
त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याएर पराजित गर्नुभएको हो । उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याउनुभएको थियो । यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो ।