शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

  जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाउनुभएको छ ।

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उहाँले तीन हजार ४९४ मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाउनुभएको छ । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याउनुभएको छ । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया