गलकोट, वैशाख ३१ : बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा मत गणना सुरु भएको छ । दिउँसो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिकाका केही वडाको मत परिणाम आइसकेको तर बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा मत गणना हुन सकिरहेको छैन । ढोरपाटनमा सर्वदलीय बैठकमा नै झडप हुँदा दुई घाइते भएका छन् भने बडिगाडमा सर्वदलीय बैठकमा सहमति हुन सकेको छैन ।
बागलुङ नगरपालिकामा ५ बजेदेखि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयानुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा सुरु भएको छ । मतगणनाको सुरुआत मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गर्नुभएको थियो । चौध वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ । अहिले बानपा–१ रामरेखा र बानपा–१४ नारायणस्थानको मतगणना भइरहेको छ । ४० हजार ११८ रहेको नगरपालिकामा २५ हजार ८४१ मत खसेको छ ।