सप्तरी, वैशाख ३० : सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार निर्वाचन स्थगित गरिएको उहाँले बताउनुभयो ।निर्वाचनमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो ।
निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसमम्मति निर्णय भएको थियो ।उक्त निर्णयमा नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए ।
विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो।कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताउनुभयो ।