मनाङमा सिसी क्यामेरासहित मतगणनास्थल तयार

  बैशाख २९, २०७९

मनाङ, वैशाख २९ : शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना गर्न सहज बनाउने उद्देश्यले मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत गणना गर्न स्थलको निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे गाउँपालिकाको मतगणना मनाङ जिल्ला अदालतको कार्यालयमा गणना गरिने उहाँले बताउनुभयो ।

पालिकाले मतगणनाका लागि स्थलको सुरक्षित तवरबाट तयारी गरिएको मुख्य निर्वाचन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणनाका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ । “मतगणनाका लागि मतगणनास्थललाई सुरक्षित बनाइएको छ”, उहाँले भन्नुभयो, “सबैको चित्तबुझ्दो तवरबाट मतगणनास्थलको व्यवस्थापन गरिएको छ ।” छिटो मतगणना सम्पन्न गर्ने गरी गणनाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “मतगणनास्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतगणनास्थल निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो ।

एक÷दुई दिनमा मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । मुख्य निर्वाचनसहित जिल्लाका सबै पालिकामा मतगणना स्थलको व्यवस्थापन गरिएको छ । मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देस्थित गाउँपालिकाको भवनमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नासोँ गाउँपालिकाको पालिका भवन धारापानीमा मतगणना गरिनेछ भने नार्पाभूमि गाउँपालिकाको पालिका भवन च्याखुमा मतगणना गरिने उहाँले बताउनुभयो ।

जिल्लाका सबै पालिकाको मतगणनास्थल निर्माण गरिएको उहाँले बताउनुभयो । सिसी क्यामेरासहित मतगणनास्थलमा तारबार गरिएको छ । बारभन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया