निर्वाचन स्वच्छता एवं प्रणाली सुधारमा दल र नेताको असहयोग : पूर्वसभामुख

  बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : पूर्वसभामुख दमननाथ ढुङ्गानाले निर्वाचनमा स्वच्छता कायम गरी प्रणाली सुधार्न राजनीतिक दल र नेताकै सहयोग नहुने गरेको बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताको बुँदा २०० पु¥याएरै सुधार भयो भन्ने सोच्नु उपयुक्त नहुने बताउनुभयो ।

स्थानअनुसार फरक आचारसंहिता बनाउनुपर्नेमा पूर्वसभामुख ढुङ्गानाको जोड थियो । “निर्वाचनको स्वच्छतामा दलले ध्यान नदिँदा जनताले इच्छाएअनुसारका प्रतिनिधि निर्वाचित हुनसक्ने अवस्था छैन, बिचौलियाले चाहेबमोजिमका जनप्रतिनिधि निर्वाचित हुने अवस्था बनेको छ, यसैले निर्वाचनको स्तरीयता कसरी सुधार गर्ने भन्ने विषय चुनौती बनेको छ”, उहाँले भन्नुभयो ।

पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहितामा धेरै कुरा राखेकाले अहिले त्यसलाई आयोगले नै थेग्न नसकेको बताउनुभयो । आयोगले राज्य नै चलाउने जसरी आचारसंहितामा धेरै कुरा समेटेको उहाँको भनाइ थियो ।

“आचारसंहिताकै कारण भित्तेलेखन, पोष्टरिङ, पम्प्लेटिङ जस्ता भड्किलो प्रचारप्रसार शैली भने रोकिएको छ, यो विषय सकारात्मक छ, सामाजिक सञ्जालमा प्रचारप्रसारकै लागि हुने अस्वस्थ प्रतिस्पर्धा पनि अब रोकिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयोगले आचारसंहिताका नाममा सबै कुरामा कस्न नहुने उल्लेख गर्दै उहाँले अत्यधिक खर्च र घुसपैठका रूपमा गरिने मतदान रोकेर अरु विषयलाई उत्सवका रूपमा मनाउन दिनुपर्नेमा पूर्वआयुक्त श्रेष्ठले जोड दिनुभएको थियो । स्थानीय तहको निर्वाचनलाई स्थानीयस्तरबाटै गर्न नियोकजस्ता संस्थाले देशव्यापी बहस चलाउनुपर्ने उहाँको भनाइ थियो ।

अर्का पूर्वआयुक्त प्रा डा वीरेन्द्रप्रसाद मिश्रले निर्वाचन लोकतन्त्रको आत्माका साथै समाज, अर्थनीतिलगायत सबैसँग जोडिएकाले पनि निर्वाचनको स्वच्छता कायम गरिनुपर्नेमा जोड दिनुभयो । सात सय ५३ वटै स्थानीय तहका मतपत्र सात स्थानमा छाप्ने हो भने मतपत्रको आकार सानो बनाउन सहयोग मिल्ने उहाँको विचार थियो ।

नियोकले एक हजार ३०० पर्यवेक्षक खटाउने

यसैबीच स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी भइरहेको बताउनुभयो ।

निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ को स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको संलग्नता रहने छ । कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पर्यवेक्षणबाट प्राप्त प्रतिवेदनले निर्वाचन प्रणाली सुधारको प्रमुख आधारका रूपमा काम गर्ने बताउनुभयो ।

कार्यक्रममा नियोकका उपाध्यक्ष स्टेला तामाङ, महासचिव देविका तिमल्सिना, कोषाध्यक्ष तेज तिमल्सिना, प्रा कुसुम शाक्य, प्रा मेनका श्रेष्ठ, नियोकका कार्यकारी निर्देशक विकल श्रेष्ठलगायतले निर्वाचनको स्वच्छता कायम गर्दै विश्वसनीयता बढाउन गरिनुपर्ने सुधारका विषयमा सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया