काठमाडौँ, वैशाख २६ : वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन रु पाँच अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप रु ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म रु ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा रु पाँच अर्ब बढेर रु ४३ खर्ब ७३ अर्ब पुगेको हो ।
वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता रु ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा रु ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो ।
गत साताको तुलनामा कर्जा लगानीमा रु चार अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता रु ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र रु ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।