सप्तरी, वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा आठ महिलाले मात्र पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने मौका पाएका छन् । सात स्थानका लागि छुट्टछुट्टै दलले थोरै मात्र महिलाको नेतृत्वमा उम्मेदवार उठाएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा भने कुनै पनि ठूला दलले महिलाका नेतृत्वमा उम्मेदवार उठाएका थिएनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीको तथ्याङ्कानुसार सप्तरीमा नौ नगरपालिकामा ९३ नगर प्रमुखका उम्मेदवारमध्ये चार महिला तथा नौ गाउँपालिकामा १०३ अध्यक्षका उम्मेदवारमध्ये त्यत्तिकै सङ्ख्याका महिला मात्र उम्मेदवार बन्न पाएका हुन् ।
घरदैलो, जुलुस र नारामा महिलाको उल्लेख्य सहभागिता रहे पनि उम्मेदवारीमा न्यून सङ्ख्या देखिएको बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जुकुमारी साहले बताउनुभयो । साहले यसपटक उम्मेदवारी पाउनु भएको छैन । स्थानीय राजनीतिमा प्रभाव राख्न सक्ने थोरै महिलालाई मात्र ठूला दलले नेतृत्वमा अवसर दिँदै चुनावी मैदानमा उतारेको महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष अनिता देवकोटाले बताउनुभयो । आफ्नो पाँचवर्षे कार्यकाल विवादरहित र उत्कृष्ट ढङ्गले बिताउनुभएका उपप्रमुखलाई राजनीतिक दलहरूले माथिल्लो नेतृत्वको अवसर दिन नसकेको गुनासो उहाँले गर्नुभयो । “पुरुष आकाङ्क्षीलाई छाडेर राजनीतिक दलले महिला नेतृत्वलाई विश्वास गर्न अझै सकेनन् ”, देवकोटाले भन्नुभयो ।
नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) ले तिलाठी कोइलाडी गाउँपालिकाबाट महिलाका नेतृत्वमा उम्मेदवारी दिएका छन् । एमालेले मीनादेवी राम चमारलाई र एकीकृत समाजवादीले किरणकुमारी मिश्रलाई अध्यक्षका उम्मेदवार बनाएका छन् । सो पालिकामा एमालेले उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीको उम्मेदवारी परेको छैन । राम र मिश्रले अन्य ६ पुरुषसँग प्रमुखमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
नेपाली कांग्रेसले सुरुङ्गा नगरपालिकाबाट गीता चौधरी र नेकपा (माओवादी केन्द्र)ले बलान बिहुल गाउँपालिकाबाट पविताकुमारी यादवलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । दुवै दलले उपप्रमुख र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएका छन् । सुरुङ्गाका नगर प्रमुख र बलान बिहुल गाउँपालिकाका अध्यक्षमा आठ–आठ जनाको उम्मेदवारी परेको छ ।
जनमत पार्टीले भने दुई नगरपालिकामा महिलाका नेतृत्वमा उम्मेदवारी दिएको छ । राजविराजबाट ममता झा र सप्तकोशीबाट प्रियङ्काकुमारी सन्तका नेतृत्वमा जनमत पार्टीले चुनाव लडिरहेको पार्टीका अध्यक्ष चन्देश्वर मण्डलले बताउनुभयो ।
राजनीतिक चहलपहल र सक्रियताका हिसाबले महत्वपूर्ण केन्द्र राजविराजका उपप्रमुखमा जनमत पार्टीले महिलालाई नै उपप्रमुखमा समेत उम्मेदवार बनाएको छ भने सप्तकोशीमा उपप्रमुखमा उम्मेदवार पुरुष छन् । राजविराज नगरपालिकामा १८ र सप्तकोशी नगरपालिकामा सात जना नगर प्रमुख पदमा उम्मेदवार छन् ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)ले तिरहुत गाउँपालिकाबाट साधनाकुमारी यादवलाई अध्यक्षका उम्मेदवार बनाएको छ । तिरहुतमा यादवसहित १२ जना अध्यक्षका उम्मेदवार छन् ।
सप्तरीका रूपनी र विष्णुपुर गाउँपालिकाका अध्यक्षमा मात्र उम्मेदवारी दिएको नेमकिपाले रूपनीमा श्यामकुमारी साहलाई उम्मेदवार बनाएको छ । रूपनीमा स्वतन्त्रसहित १७ जना अध्यक्ष पदका उम्मेदवार छन् ।