कृष्णपुरमा एमाले, काँग्रेस, माओवादीबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

  बैशाख २४, २०७९

महेन्द्रनगर, वैशाख २४ : कृष्णपुर नगरपालिकाको नेतृत्वका लागि तीन ठूला दल चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् । चुनाव नजिकिँदै गएपछि नेताहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

कृष्णपुरमा सत्तारुढ नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र नगरको नेतृत्व लिने दाउमा छन् । काँग्रेस माओवादी अघिल्लो निर्वाचनको हारलाई जितमा बदल्ने लक्ष्य लिएर चुनावी मैदानमा गएका छन् । अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिएर एमाले ह्याट्रिक गर्ने दाउमा छ । एमालेले २०७४ मा मेयर उप मेयर दुबै जितेको थियो ।

एमालेबाट कृष्णपुरका नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त मेयरका लागि चुनावी मैदानमा छन् । उनीसंग अघिल्लो निर्वाचनमा निर्वाचित उप मेयर रमिता राना फेरि उप मेयरमा लडेकी छन् ।

काँग्रेस र माओवादी केन्द्रले अघिल्लो निर्वाचनका प्रतिस्पर्धीलाई उम्मेदवार बनाएको छ । काँग्रेसका हेमराज ओझा र माओवादी केन्द्रबाट जोगराम चौधरी मेयरका उम्मेदवार छन् । काँग्रेसबाट द्रोपती राना र माओवादी केन्द्रबाट गीता मल्ल देउवा उप मेयरका उम्मेदवार छन् ।

अघिल्लो निर्वाचनमा एमालेका कर्ण बहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्दी काँंग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत ल्याएका थिए । माओवादी केन्द्रका चौधरी ओझाको भन्दा ६ मत कम ल्याएका थिए । उप मेयरमा काँग्रेस माओवादी दुबैका नयाँ उम्मेदवार हुन् ।

काँग्रेसका उप मेयरका उम्मेदवार भुवनेश्वरी जोशीले ५ हजार ९ सय २८ मत ल्याउँदा उनी भन्दा १ हजार ९० मत बढी ल्याएर एमालेकी राना निर्वाचित भएकी थिइन् ।

माओवादी केन्द्रका चौधरी नगर अध्यक्ष र ओझा काँग्रेस जिल्ला सचिव हुन् । उनीहरु दुबै जना अघिल्लो हारमा जितमा बदल्न लागि परेका छन् । उनीहरु दुबैलाई फेरि पराजित गरी जितलाई ह्याट्रिक बनाउने एमालेको चाहना छ ।

‘यस पटक हाम्रा लागि अत्यन्तै राम्रो अवस्था छ, सन्तुलित रुपमा उम्मेदवारी दिएका छौ, सबै कार्यकर्ता सन्तुष्ट छन्’ एमालेको निर्वाचन मूल परिचालन समितिका संयोजक जयराज पाण्डेयले भने,‘यस पटक जितेर ह्याट्रिक गर्छौ ।’

एमालेले कृष्णपुर नगरपालिकाका लागि ल्याएको चुनावी प्रतिवद्धता, विगतका कार्य, एमालेको बलियो संगठनले चुनाव जित्ने पाण्डेयले बताए । ‘यस पटक थप नयाँ योजना सहितको प्रतिवद्धता ल्याएका छौ, जनताका समस्या, जनजीवका समावेश गरिएका मुद्दा अघि बढाएका छौ’ उनले भने,‘टोल टोलमा एमालेको संगठन छ ।’

कृष्णपुरमा एमालेले पाण्डेयको नेतृत्वमा २०५४ को स्थानीय निकाय निर्वाचन जितेको थियो । उनी साविक कृष्णपुरका गाविसका अध्यक्षमा निर्वाचित भएका हुँदा एमालेले ८ वडा जितेको थियो । त्यसपछि २०७४ मा मेयर उप मेयर सहित ३ वडा जितेर एमालेले २० वर्ष अघिको जितलाई निरन्तरता दिएको थियो । अहिले फेरि पाँच वर्षपछि एमाले जितलाई निरन्तरता दिएर ह्याट्रिक गर्ने लक्ष्य बोकेर चुनावी मैदानमा होमिएको छ ।

२०५४ मा पाण्डेय अध्यक्षमा निर्वाचित हुँदा माओवादी केन्द्रका मेयरका उम्मेदवार चौधरी काँग्रेसबाट लडेर उपाध्यक्षमा पराजित भएका थिए । एमालेबाट उपाध्यक्षमा निर्वाचित मायाराम चौधरी एमालेमै छन् । मेयरका उम्मेदवार चौधरी २०७४ मा फेरि पराजित भएका हुन् ।

‘अहिले प्रतिस्पर्धामा भएका उम्मेदवारहरु हामीले यस अघि नै पराजित गरि सकेका छौ, यस पटक फेरि गर्छौ’ उनले भने ।
माओवादी केन्द्रका नेता अमिन दहितले भने राना थारु समुदायको मत तलमाथि नभए माओवादी केन्द्रले चुनाव जित्ने बताए । काँग्रेस एमालेको उप मेयरका उम्मेदवार एकै क्लस्टरका छन्, हामीले डडेल्धुराको उप मेयरका उम्मेदवार दिएका छौ’ उनले भने,‘यसले माओवादी बलियो बनेको छ, त्यसैले चुनाव जितिन्छ ।’

माओवादी केन्द्रबाट थारु समुदायको मेयरको उम्मेदवार र उप मेयरमा डडेल्धुराको भएकाले माओवादीको जित हुने उनले दाबी गरे । कृष्णपुरमा थारु र डडेल्धुराको मत निर्णायक हुने गरेको उनको भनाई छ ।

काँग्रेस छाडेर आएका बलराम पन्त र जनमोर्चाका गोबिन्द विक सहितले पनि माओवादी केन्द्रलाई फाईदा पुग्ने नेता दहितले बताए । उनले समाजवादीका मेयरका उम्मेदवार सुरेन्द्र बलमे माओवादीको एक मत पनि नकाट्ने दावी गरे । समाजवादीका बम माओवादीका पूर्व नेता हुन् ।

कृष्णपुरका ४० हजार मतदातामध्ये १५ हजार हाराहारीमा आदिवासी जनजाति समुदायका छन् । माओवादी केन्द्र एमाले र काँग्रेसका गैर जनजाति समुदायको उम्मेदवारका कारण फाईदा पुग्ने आशमा छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जनजाति मेयर र गैर जनजाति उप समुदायबाट मेयरका उम्मेदवार भएका थिए । यस पटक पनि माओवादीले त्यस अनुसार उम्मेदवार बनाएको छ । काँग्रेस र एमालेका मेयर गैर जनजाति र उप मेयर जनजाती समुदायका छन् ।

अघिल्लो निर्वाचनमा एमालेले उप मेयर जनजाति समुदायको बनाउँदा चुनाव जितेकाले काँग्रेसले अहिले त्यही अनुसार उम्मेदवार बनाएको छ । उप मेयरका उम्मेदवार फेरिँदा काँग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ । काँग्रेसले उप मेयरका लागि तयारी गरेका पार्वती महतालाई रोकेर रानालाई उम्मेदवार बनाएको छ । शिक्षण पेशाबाट राजीनामा दिएकी महता टिकट नपाएपछि असन्तुष्ट छन् ।

एमालेका नेता पाण्डेयले कृष्णपुरमा जातीय समुदायको कुरा अघि सारेर चुनाव जित्न नसकिने बताए । ‘जातीय रुपमा मत ल्याएर जित्छौ भन्नु सतही कुरा हो, माओवादीले त्यस आधारमा जित्ने कुरा अघि सारेको छ, त्यसो भए अघिल्लो निर्वाचन पनि जित्नु पर्ने हो’ उनले भने,‘यो फ्याक्टरले चुनाव जितिदैन, केही तलमाथि हुन सक्छ, मूल रुपमा पार्टी संगठन बलियो भए चुनाव जितिन्छ ।’

माओवादी केन्द्र उप मेयरमा काँग्रेस एमालेका आदिवासी मत विभाजन हुँदा आफूले उप मेयर जित्नेमा विश्वस्त देखिएको छ । एमाले भने काँग्रेस र माओवादी केन्द्रले भौगोलिक रुपमा उम्मेदवारी मिलाउन नसकेका कारण दुबै पदमा फेरि आफू जित्ने दावी गरेको छ ।

एमालेले कृष्णपुरका पूर्व र पश्चिम दुबै क्षेत्रलाई समेटेर मेयर उप मेयरको उम्मेदवार बनाएको छ । पश्चिम भुगोलबाट मेयरमा पन्त र पूर्वमा उप मेयरका उम्मेदवार राना छिन् । अघिल्लो निर्वाचनमा एमालेका दुबै उम्मेदवार पूर्वी क्षेत्रका थिए । यस पटक काँग्रेस र माओवादी दुबैले मेयर उप मेयरका उम्मेदवार पूर्वी क्षेत्रका बनाएको छ ।

कृष्णपुरमा नेकपा एकीकृत समाजवादी र राप्रपा सहित स्वतन्त्र दलले पनि मेयर उप मेयरमा उम्मेदवार बनाएका छन् । समाजवादीबाट सुरेन्द्र बम मेयरका उम्मेदवार छन् । समाजवादी मेयर, उप मेयर सहित ६ वडामा उम्मेदवारी दिएको छ ।

कृष्णपुरको पश्चिम क्षेत्रमा वडा नं १, २ ३ वडा छन् । यी तीन वडामा झण्डै आधा मतदाता छन् । एमालेको कृष्णपर नगरपालिका २ का अध्यक्षका उम्मेदवार जयनारायण जोशीले ती वडाबाट एमालेले ६० प्रतिशत बढी मत पाउने बताए ।

नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले कृष्णपुरमा नगरपालिका काँग्रेसले जित्ने बताए । ‘कृष्णपुरमा हामी बलियो छौ, चुनाव जित्छौ’ उनले भने । अघिल्लो निर्वाचनमा १, ४, ७, कांग्रेस, २, ३, ९ एमाले र ५, ६ र ८ मा माओवादी केन्द्र निर्वाचित भएका विकल्प दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया