विश्व प्रेस काउन्सिलको बैठक– मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

  बैशाख २१, २०७९

काठमाडौँ, वैशाख २१ : प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालको तर्फबाट यस्तो सुझाव राखिएको हो ।

नेपालको तर्फबाट प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरै खालका प्रयास भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी भइसकेको बताउनुभयो ।

“हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयास गरेका छौँ । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न काम काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ”, वल्र्ड एसोसिएशन अफ प्रेस काउन्सिलको आज सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो । उहाँले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राख्नुभयो ।

केन्याका सूचना तथा सञ्चारमन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुनेतर्फ उहाँको जोड थियो ।

विभिन्न तीन दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागिता छ ।

विश्व प्रेस काउन्सिलका महासचिवसमेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा विभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया