काठमाडौं, वैशाख २१ : नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा सहज जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जिम्बाबे ‘ए’लाई नेपालले ८ विकेटले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितका लागि आसिफ शेखले ८७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेदले १० रन जोड्नुभयो ।
जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाउँदा मारुमानीले २७ र लुक जोग्वेले २३ रन बनाउनुभयो ।
जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले एकएक विकेट लिनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो भने सोमपाल कामी र बसिरले एकएक विकेट हात पार्नुभयो ।
पहिलो खेलमा नेपाल जिम्बाबे ‘एसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाले रद्ध भएको थियो। बुधबारको जितसँगै नेपाल र जिम्बाबे ‘ए’बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
अब नेपालले जिम्बाबे ‘ए’सँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यसअघि नै एकदिवसीय खेलका लागि टिमको घोषणा गरिसकेको छ ।