रुकुम (पूर्व) मा ३९ हजार मतपत्र आइपुगे

  बैशाख २०, २०७९

रुकुम (पूर्व), वैशाख २० : रुकुम(पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपत्रसँगै निर्वाचनका लागि आवश्यक सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

निर्वाचन सामग्री जिल्लामा आइपुगेसँगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली पनि प्रकाशन गरिसकिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि २२ गते रुकुमकोटमा रहेको रुक्मिणी माविको हलमा तालिम सञ्चालन हुने भएको छ ।

यस्तै जिल्लामा मतदाता परिचयपत्र पनि आइपुगेका छन् । जिल्लामा आएका मतपत्र, मतदाता परिचयपत्रसँगै अन्य सामग्रीहरु चुनाव हुनुभन्दा तीन दिनअघि नै सबै मतदान केन्द्रमा पु¥याइसक्ने निर्वाचन अधिकारी ओलीले बताउनुभयो । उहाँका अनुसार अहिले मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ भने अन्य सामग्रीहरु जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ ।

यस जिल्लामा ३३ हजार ५१८ मतदाता सङ्ख्या रहेको छ । महिला १६ हजार चार हजार ६२४ र पुरुष मतदाताको सङ्ख्या १६ हजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम (पूर्व))ले जानकारी दिएको छ ।

जिल्लामा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र छन् । ती ४९ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको हो । सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम सार्वजनिक गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ४९ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृत (जगेडासहित) र सहायक मतदान अधिकृतको सूची सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै जिल्लामा आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरेको हो ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, भेष्ट, टी–सर्ट वा क्याप, मास्क वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला ब्याच, जस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण प्रदर्शन गर्न÷गराउन पाइने छैन ।

सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न प्रतिबन्ध गरेकाले त्यस्ता क्रियाकलाप नगर्न-नगराउन र गरेको भए तत्काल रोक्न र हटाउने कार्य गर्न अनुरोध गरिएको कुरा सूचनामार्फत जानकारी गराइएको छ ।

यस्तै सामाजिक मर्यादा तथा निर्वाचन आचारसंहिता विपरीत श्रव्य, दृश्य सामग्री सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायत कोहीप्रति पनि लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचनविरोधी सन्देश प्रवाह नगर्न-नगराउन प्रशासनले सूचनामार्फत अनुरोध गरेको छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य कसैले गरे र गराएको पाइएमा सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिने र प्रचलित कानूनबमोजिम कारबाही गर्ने कुरा सूचनामार्फत जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया