श्रमिकका गुनासाः खानै पुग्दैन कमाइले

  बैशाख १८, २०७९

चितवन, वैशाख १८ : भरतपुरमा कोठा भाडामा लिएर राखिएको परिवारलाई पाल्न यातायात मजदूर विष्णु विकलाई दैनिक चलाउन मुस्किल छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नारायणगढ पुल्चोकमा भेटिनु भएका विकले दैनिकी गुजारामा चलाउने गर्नुभएको छ । दुई छोराछोरी र श्रीमतीलाई बसमा सहचालकबापत पाउने तलब र भत्ताले बिहान, बेलुकाको गर्जाे टार्न मुस्किल छ । विकले गुनासो गर्दै भन्नुभयो “राम्रो लगाउन र मिठो खानेकुरा नगर्नुहोस्, कोभिडको बेलाको ऋण तिर्न नसकेर घर बस्ने नसकिने भएको छ ।” मासिक मुस्किलले पाइने रु १५ हजारले के गर्ने ? कोठाभाडा, दैनिक रासन, छोराछोरीलाई कपिकिताब पुर्‍ययाउन कठिन छ, उहाँले गुनासो गर्नुभयो ।

उहाँले बस चलेको दिन दैनिक पाँच सय भत्ता र मासिक रु तीन हजार तलब पाउने भए पनि दैनिक बस सञ्चालन नहुँदा कमाइ राम्रो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बसको पालो अनुसार काम पाइन्छ । बस नचलेको दिन काम पनि हुँदैन ।” भरतपुरको चौबीसकोठीमा ना ६ ख ९५६१ नं को बसका सहचालक केशव काफ्लेको गुनासो पनि विकको जस्तै छ । उहाँले भन्नुभयो “गाडी चलेको दिन खाने हो नभए भोकै बस्नुपर्ने अवस्था छ ।” भत्ताको भरमा काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाडी चलेको दिन खाने हो, नभए भोक्कै बस्नुपर्ने अवस्था पनि आउँछ कहिले काहीँ ।”

भरतपुरका विभिन्न क्षेत्रमा ई–रिक्सा सञ्चालन गर्दै आउनु भएका रुद्रप्रसाद तिमिल्सिनाले अहिले दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गर्नुभयो । विगत ७ वर्षदेखि रिक्सा चलाउँदै आउनु भएका तिमिल्सिना बढ्दो महँगीका कारण दैनिक कमाइले खान बस्नसमेत कठिन बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “कमाई खासै छैन । पहिला दैनिक रु दुई हजार हाराहारी कमाइ हुन्थ्यो । अहिले झरेर सात सय पुर्‍ययाउन पनि मुस्किल छ । यसले के खाने के लगाउने ।” पहिला रु एक हजार ५०० मा पाइने कोठा अहिले बढेर तीन हजार ५०० भन्दा बढी भइसकेको बताउँदै उहाँले यसरी नै महँगी बढ्दै गए स्वरोजगार बनेको पेशाबाट पलायन बन्नु पर्ने स्थिति आउने बताउनुभयो ।

एक दशकदेखि भरतपुरको चौबिसकोठिमा मोचीको काम गर्दै आउनुभएका रामजतन रामको पीडा पनि उस्तै छ । बाराको देवताल गाउँपालिकाबाट चितवन आएर जुत्ता चप्पल सिलाउने काम गर्दै आउनु भएको उहाँले अहिलेको महँगीका कारण एक्लो जीवन चलाउन समेत कठिन बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ त खाना खानसमेत सापटी माग्नुपर्ने अवस्था छ ।” पहिला पहिला दैनिक ७ सय सम्म कमाई हुने गरेको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घरका सदस्य बिरामी परे भने ऋण खोजेर उपचार गर्नुपर्ने अवस्था आउँछ ।”

भरतपुर महानगरपालिका–१० स्थित अस्पताल रोडमा फलफुलको ठेला धकेली रहनुभएका गोविन्द भट्टराईले दिनभारी व्यापार गरेर पनि खासै कमाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापार गर्न सडकमा झरेपछि नगरपालिका, ट्राफिक प्रहरी र टोलसुधारले लखेट्ने गरेका छन् । अनि कसरी व्यापार गरेर खान सकिन्छ ।” दैनिक ५ सय देखि ७०० मात्रै कमाइ हुनेगरेको भन्दै उहाँले तीन वर्षदेखि आफ्नै व्यवसाय गरौँ भनेर लागेको तर छोराछोरी पढाउन कठिन भएको बताउनुभयो ।

ट्रेडयुनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले अहिलेको मजदूरको न्यूनतम तलबले एक्लै पनि पालिन नसक्ने आवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक रु १५ हजार तलबले कस्को परिवार पालिन्छ ?” त्यसमाथि चुलिएको महँगीका कारण मजदूरको जीवनयापन असहज बनेको उहाँको भनाइ छ । काम नहुँदा बेतलवी बिदा दिने परिपाटी बढेको भन्दै उहाँले धेरै उद्योगले १५ दिन काम दिने र १५ दिने बेतलवी बिदा दिने गरेको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको नीति नै मजदूरमैत्री छैन ।” न्यूनतम पनि रु २० हजारभन्दा घटीले मजदूर चल्न नसक्ने सापकोटाले बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ चितवनका अध्यक्ष यदुमणि कँडेल क्षमता अनुसारको पारिश्रमिक मजदूरले पाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काम गरेको पारिश्रमिकले परिवार चल्नुपर्छ ।” एउटा परिवार पालिनका लागि मासिक रु २५÷३० हजार खर्च हुने गरेको भन्दै उहाँले महँगीका कारण मजदूर मारमा परेको बताउनुभयो । ठेकेदारी प्रथाले मजदूरलाई प्रभावित बनाएको उहाँको ठम्याइ छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) भरतपुरका अध्यक्ष रुद्र उप्रेती अहिलेको पारिश्रमिकले परिवार पाल्न मजदुरले नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तीमा पनि रु २० हजार भएन भने परिवार चल्दैन ।” मजदूरको परिवार पालिने गरी पारिश्रमिक दिने व्यवस्था हुनुपर्ने उप्रेतीको भनाइ छ । बेतलवी बिदा दिने परिपाटीले मजदूर झन बढी प्रभावित भएको उहाँले बताउनुभयो । सबै क्षेत्रका मजदूर पछिल्लो समयको महँगीको कारण थप प्रभावित भएको उनीहरुको भनाइ रहेको छ । महँगीको अनुपातमा ज्याला र पारिश्रमिक वृद्धि गर्दै लैजानुपर्नेमा सबैको जोड थियो ।

तपाईको प्रतिक्रिया