काठमाडौँ, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै उहाँले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको उल्लेख गर्नुभएको छ ।
उहाँले कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्र विकास गर्दै रोजगारीको खोजीमा विदेसिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
श्रमिकको जीवनलाई मर्यादित बनाउनुपर्छ
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुुलुकको आर्थिक, सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिकको काम र जीवनलाई मर्यादित बनाएरमात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकार श्रमिकका श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताउनुुभएको छ ।
प्रधामन्त्री देउवाले हरेक वर्ष श्रमबजारमा आएका श्रमशक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न नेपाल सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजानेछ ।’’
मुुलुुकमा गणतन्त्रात्मक व्यवस्था ल्याउन हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिकको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले श्रमिकको एकता र सङ्घर्षबाटै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ ।
राज्यले संरक्षण दिनुपर्छत्यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मजदुरका वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा–सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्ने बताउनुुभएको छ ।
नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षा र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार मौलिक हकमार्फत व्यवस्था गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले रोजगारीका क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।