गलेश्वर, वैशाख १७ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार चुनावी तालमेल भएको छ ।मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिएका ती दुबै दलबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो । पाँच दलीय गठबन्धनमा सहमति नभएपनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच प्रमुख र उपप्रमुखमा चुनाव तालमेलको सहमति भएको छ ।
सहमति अनुसार, कांग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार जैसी र कांग्रेसका उपप्रमुखका उम्मेदवार अमृतदेबी बानियाँको मनोनयन फिर्ता गराइएको थियो ।
त्यसैगरि माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले वडा नं २, ६, ७, ८ र ९ मा चुनावी तालमेल गरेका छन् ।
यसैबीच सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) म्याग्दीमा चुनावी गठबन्धनबाट अगल भएको छ । कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुका साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी सबै फिर्ता गरिएको सो पार्टीले जनाएको छ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्र बाँकी रहँदासम्म म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको सङ्ख्या बढ्ने सम्भावना देखिएको छ ।
जिल्लामा ८५ प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्रका छन् । गाउँमा अहिले खेतीपाती कामको चटारो भएकाले ग्रामीण भेगका मतदाताले निर्वाचनलाई भन्दा खेतीपाती कामलाई बढी प्राथमिकता दिएका छन् । उनीहरुलाई भोट माग्न घरदैलोमा आएका उम्मेदवारका कुरा सुन्न र मतदान गर्ने तरिका सिक्न पनि फुर्सद नभएकाले यसपटकको निर्वाचनमा बदर मतको प्रतिशत बढी हुन सक्ने बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँले बताउनुभयो ।
जिल्लाका केही स्थानीय तह र वडामा फरक दलबीच गठबन्धन गरेर आआफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको स्वयं उम्मेदवारले नै बताएका छन् । बेनी नगरपालिका–२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्मर सापकोटाले मतदाता शिक्षाका अभावमा बदर मतको प्रतिशत बढी हुने आशङ्का गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मतदान गर्ने गरेको विगतको नजिर रहेको छ । एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर सो कुरा धेरैलाई थाहा नहुने भएको हुँदा त्यस्तो हुने गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । धेरै मतदाताले सुरुको मतदान चिह्नमा छाप लगाएर पछिकोमा नलगाउने गरेको पाइएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेको अनुभव छ ।
यसवर्ष केही स्थानीय तहमा आआफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा मतदान चिह्न हुने गरेकाले मत खेरजाने सम्भावना रहेको छ । म्याग्दीमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एक पालिका र पाँच वटा वडामा गठबन्धन गरेका छन् । यसवर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण गरिने गरेकोमा यसपटक हालसम्म त्यस्ता कार्यक्रम नगरिएको उहाँले बताउनुभयो । मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकोले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने उहाँको भनाइ छ । हालसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र आएको र सो कार्यक्रम शून्य समय सुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।