झापाबाट १३९ जनाको उम्मेदवारी फिर्ता

  बैशाख १६, २०७९

झापा, वैशाख १६ : स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन् । जसमा नेकपा ९एकीकृत समाजवादी०बाट उम्मेदवारी दिने नगरप्रमुखका प्रत्याशी रमा खवास र उपप्रमुख प्रेमसागर सापकोटालगायत छन् ।

उम्मेदवारी फिर्ता लिनेहरुमा विर्तामोड नगरपालिकाबाट वडाध्यक्षका उम्मेदवारसहित १७, मेचीनगरबाट १६, बुद्धशान्ति गाउँपालिकाबाट १६, कचनकवलबाट सात, हल्दिबारीबाट छ, भद्रपुर नगरपालिकाबाट पाँच, बाह्रदशीबाट तीन, झापाबाट दुई, कमल गाउँपालिकाबाट एक, गौरादह नगरपालिकाबाट आठ, गौरीगञ्जबाट तीन, दमक नगरपालिकाबाट १३, शिवसताक्षीबाट ११ र कनकाई नगरपालिकाबाट १० जना रहेका छन् ।

जिल्लामा उम्मेदवारी फिर्ता गर्नेमा १० प्रमुख पदका, उपप्रमुखका नौ, वडाध्यक्षका ५० र बाँकी सबैमा महिला, दलित र खुल्ला सदस्यबाट रहेका छन् । जिल्लाका १५ पालिकामा जम्मा दुई हजार ९१४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया