गलेश्वर, वैशाख १६ : म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौँमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार तथा इशा फाउण्डेशनको सह–आयोजनामा गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका ढकालले मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका बिरामीको उपचार निःशुल्क गर्ने व्यवस्था गरे पनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रम सञ्चालन नभएको बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हुने भएकाले समय समयमा आफ्नो स्वास्थ्य अवस्थाको परीक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले सेभ द हार्टले देशव्यापीरूपमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । म्याग्दीसहित २३ जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविरमा हालसम्म करिब ९६ हजार मुटुरोगीको परीक्षण गरिएको डा भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा हालसम्म करिब एक हजार ३०० बिरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी बिरामीले निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन् । शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटुको भिडियो एक्सरे, इसिजी गर्ने, निःशुल्क औषधि वितरण तथा आवश्यक परामर्श दिइने छ । शल्यक्रिया गर्नुपर्नेलाई काठमाडौँ बोलाएर बिरामीको अवस्था हेरी निःशुल्क शल्यक्रियासमेत गरिने डा भट्टराईले बताउनुभयो ।
शिविरमा मुटुरोगसम्बन्धी अनुभवी चिकित्सकको टिम खटिएकाले बिरामीका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका उपाध्यक्षसमेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालैमात्र आफ्नो सानो छोराको मुटुसम्बन्धी रोगको डा भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यवाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटु रोगीको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।
साथै उहाँले शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषसमेतको बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७१ मा स्थापना भएको कोषले हालसम्म २४९ बिरामीको उपचारमा सघाएको छ । रु एक करोड तीन लाखको अक्षयकोष रहेको कोषले आफ्नो ब्याज र अभियानबाट बिरामीको उपचार तथा विपतको समयमा हालसम्म रु दुई करोड ५३ लाख १९ हजार सहयोग गरेको गौतमले बताउनुभयो ।
सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटुसम्बन्धी जटिल समस्या देखिएकालाई काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका बिरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोगसहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाइ छ ।
बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परीक्षणका लागि म्याग्दीलगायत छिमेकी जिल्लाबाट पनि सयौँको सङ्ख्यामा बिरामी आएका छन । अस्पतालभित्र पाँच वटा ओपिडी कक्ष तयार गरी बिरामी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । शुक्रबार बिहानैदेखि बिरामी लाइनमा बसेका छन । शिविरमा डा भट्टराईको नेतृत्वमा करिब ४० जनाको टोली उपचारमा संलग्न छ ।