काठमाडौँ, वैशाख १६ : चालू आर्थिक वर्षको बाँकी तीन महिना सामान्य रहे मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । बिहीबार चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गर्दै विभागले उक्त आर्थिक वृद्धिदर हासिल हुन सक्ने जानकारी दिएको हो ।
आव २०७८/७९ का छदेखि नौ महिनासम्मका आर्थिक सूचकको विश्लेषण गर्दै उपभोक्ता मूल्यमा ५.८४ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरिएको विभागले स्पष्ट पारेको छ । चालू आर्थिक वर्षका बाँकी तीन महिना (वैशाख, जेठ र असार) पनि सामान्य रूपमै रहने र कोभिड–१९ को नकारात्मक असर नरहने अनुमानका आधारमा यस्तो प्रक्षेपण गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
यो वृद्धिदरपछि नेपालको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब आठ करोड रुपियाँ पुग्ने अनुमान छ । आधार मूल्यमा भने अर्थतन्त्रको आकार ४१ खर्ब पाँच अर्ब ५४ करोड रुपियाँ पुग्नेछ ।विभागले गरेको प्रक्षेपण नेपालमा रहेका दातृ निकायहरूले गरेको अनुमानभन्दा धेरै हो । दातृ निकायहरूले अधिकतम ४ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरिसकेका छन् ।
चालू आर्थिक वर्षमा खासगरी विद्युत् क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिदरलाई सहयोग पु¥याएको भण्डारीले बताउनुभयो । “माथिल्लो तामाकोसीलगायत जलविद्युत्का महŒवपूर्ण परियोजना सञ्चालनमा आउँदा त्यसको सकारात्मक प्रभाव आर्थिक वृद्धिदरमा पर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर केही कम अर्थात् ५.४९ प्रतिशत मात्र पुग्ने विभागको प्रक्षेपण छ । विभागले यससँगै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ३.८३ प्रतिशत वृद्धिदर हुने संशोधित अनुमान पनि गरेको छ । त्यस्तै आव २०७६/७७ मा वृद्धिदर २.४२ प्रतिशतले ऋणात्मक भएको अन्तिम अनुमान विभागको छ । विभागले पछिल्लो दुई वर्षयता आव २०६७/६८ लाई आधार वर्ष मानेर आर्थिक वृद्धिदर प्रक्षेपण गर्दै आएको छ ।
प्रारम्भिक क्षेत्रको वृद्धिदर घट्ने
नेपालको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको प्राथमिक क्षेत्रकै वृद्धिदर चालू आर्थिक वर्षमा घट्ने विभागको अनुमान छ । कृषि, वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्ष २.४४ प्रतिशत हुने विभागको प्रक्षेपण छ । अघिल्लो आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ३.४ प्रतिशत थियो ।
धानबालीको उत्पादनमा भएको ह्रासले यस क्षेत्रको वृद्धिदर घटेको विभागले जनाएको छ । समग्रमा अर्थतन्त्रमा प्रारम्भिक क्षेत्रको योगदान २४.५ प्रतिशत हुने अनुमान गरिएको छ, जुन करिब अघिल्लो आर्थिक वर्षकै समान हो । चालू आर्थिक वर्ष द्वितीय क्षेत्रको वृद्धिदर र योगदान बढ्ने देखिएको छ । उद्योग, विद्युत्, ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र समेटिने यस क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको ४.४ प्रतिशतबाट बढेर १०.३ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
त्यस्तै यस क्षेत्रको अर्थतन्त्रमा योगदान १३.७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रलाई मूल रूपमा सेवा क्षेत्रले नै चलायमान बनाएको देखिन्छ । सेवासँग जोडिएका एक दर्जन क्षेत्र समेटिने सेवा क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्ष ५.९३ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो आर्थिक वर्षमा ४.२ प्रतिशत मात्र थियो । सेवा क्षेत्रको योगदान गत आर्थिक वर्षको तुलनामा सामान्य बढेर करिब ६२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
प्रतिव्यक्ति आम्दानी बढ्यो
चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आय १६ हजार दुई सय रुपियाँ अर्थात् १३३ डलरले बढ्ने भएको छ । विभागका अनुसार प्रतिव्यक्ति आय चालू आर्थिक वर्ष एक लाख ६४ हजार ५९८ अर्थात् एक हजार ३७२ डलर पुग्नेछ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय एक हजार २३९ डलर थियो । यस हिसाबले चालू आर्थिक वर्ष नेपालीको दैनिक आम्दानी औसतमा ४५० रुपियाँ पुग्ने देखिन्छ ।
आयात २० खर्ब नाघ्ने
विभागले चालू आर्थिक वर्ष नेपालको आयात २० खर्ब १२ अर्ब रुपियाँ पुग्ने अनुमान गरेको छ । त्यस्तै निर्यात तीन खर्ब २० अर्ब ७० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । यस हिसाबले व्यापार घाटा करिब १७ खर्ब रुपियाँ पुग्ने अनुमान छ ।
बचतमा सुधार
चालू आर्थिक वर्ष नेपालीको बचत गर्ने बानीमा सामान्य सुधार हुने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालीको बचत ९.३ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो आर्थिक वर्ष ७.७ प्रतिशत थियो । चालू आर्थिक वर्षमा नेपालीले उपभोगमा ४४ खर्ब एक अर्ब ६७ करोड रुपियाँ खर्च गर्ने अनुमान छ ।