काठमाडौं, वैशाख १४ : काठमाडौं उपत्यका अर्थात् कान्तिपुर नगरीको सुन्दरताको बयान विभिन्न कोणबाट हुन्छ । मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यका यत्तिबेला भने ज्याकारान्डाको सुन्दरताले ढपक्क छोपिएको छ ।
काठमाडौंको थापाथली, रत्नपार्क, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर, ललितपुरको महालक्ष्मीस्थानमा पुग्दा ज्याकारान्डाको सुन्दरताले जोसुकैलाई मोहित पार्छ। बैजनी रङ्को फूल ज्याकारान्डाले उपत्यकाका सडक छपक्कै छोपिएका छन् । यो मौसममा फुल्ने ज्याकारान्डाले आन्तरिक मात्र नभएर नेपाल घुम्न आइपुग्ने बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ ।
विक्रम संवतको अन्तिम महिना चैतदेखि विस्तारै फुल्ने ज्याकारान्डाले उपत्यकाका सडकलाई जेठसम्म ढपक्क छोप्ने गरेको छ। टुँडिखेल र रत्नपार्कमा ज्याकारान्डा रोपेर थप सुन्दरता थपिएको छ ।