काठमाडौँ, वैशाख १३ : मिलाप राष्ट्रिय मासिकले नयाँ वर्षको सन्दर्भमा शुभकामना आदान–प्रदानका साथै कलाकारलाई सम्मान गरेको छ । यहाँ आज आयोजित सामारोहमा टिका–गोपाल गीत–सङ्गीत विशेष सम्मानबाट सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको छ । सङ्घीय, प्रतिनिधिसभा सदस्य एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कला, साहित्य तथा सङ्गीतका माध्यमबाट सामाजलाई सही दिशा निर्देश गर्न सकिने हुँदा कलाकार र साहित्यकारले आर्थिक विकासका साथै सामाजिक रुपान्तरणमा सशक्त सिर्जनाको रचना गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको मौलिक कला, संस्कृतिलाई संरक्षण गरी त्यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार चूडामणि देवकोटा, गायक सीताराम पोखरेललगायतले कला क्षेत्रको विकासमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । मिलाप राष्ट्रिय मासिक पत्रिकाका सम्पादक कृष्ण भुसालले कलाकार, खेलाडी, साहित्यकारले प्राप्त
गर्ने सफलताले देशलाई विश्व परिवेशमा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गायक तथा सङ्गीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु।।।’ शीर्षकको गीत गाउँदै विभिन्न जाति समुदायले भरिएको मुलुकमा सबै एकताबद्ध भई राष्ट्रियता बलियो बनाउनपर्ने बताउनुभयो ।