सहकारीमा महिलाको सहभागिता पुरुषभन्दा बढी

  बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : सहकारी विभागको नयाँ अध्ययन प्रतिवेदनले नेपालको सहकारी क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति बढी देखाएको छ । सहकारीप्रति महिलाको आकर्षण बढ्नुमा यसले महिलाको आर्थिक‚ सामाजिक तथा सांस्कृतिक विकासमा पुर्‍याएको सहयोग रहेको कतिपयको भनाइ छ ।

सहकारीको नेतृत्व तहमा पनि महिलाको उपस्थिति बढाउन सके त्यसले अझै धेरै महिलालाई सहकारीसँग जोडिएर लाभान्वित हुने अवसर प्राप्त हुने जानकारहरू बताउँछन् । सहकारीका सदस्य बनेका महिलाहरू पनि सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानी विकास भएको र आवश्यक पर्दा गर्जो टार्न सहयोग पुगेको बताउँछन् ।

बचतको बानी
सहकारीमा सदस्य भएपछि आफूले मासिक रूपमा बचत गर्न थालेको भक्तपुरकी निर्मला सुवाल बताउँछिन् । त्यसरी बचत गरेको रकम आफूलाई समस्या पर्दा पटकपटक काम लागेको अनुभव उनको छ ।

उनले भनिन्, “मैले घरमा आमाबुवा भाइबुहारी र छोराछोरी सबैलाई नियमित बचत गर्न प्रोत्साहन गरेँ। छोराछोरीलाई पनि फजुल खर्च कटाएर बचत गर्नुको फाइदाबारे बताएपछि उनीहरू नियमित बचत गर्न राजी भए ।”

थोरै रकमको नियमित बचतमा पनि ब्याज पाइने भएकाले आफूले बचत गर्न थालेको उनले बताइन् । उनी भन्छिन्, “घरमै थन्केको रकम घट्नु बाहेक बढ्दैन। सहकारीमा बचत गरे त्यसको नियमित बचत पनि आइरहन्छ। यो आफूले बुझेँ अनि अरुलाई पनि बुझाउँदै छु।”

बचत गर्ने बानीले अनावश्यक खर्चमा नियन्त्रण हुने कैयौँको अनुभव सुन्न पाइन्छ । घरायसी वा अन्य काममा बचतको रकम प्रयोग गर्न पाउँदा आर्थिक क्रियाकलापमा आफ्नो सहभागीता बढेको कतिपय महिलाहरूको अनुभव छ ।

सहभागिता
चुलोचौकोको कामले फुर्सद निकाल्न सङ्घर्ष गर्ने कतिपय महिलाहरू समेत सहकारीमा आबद्ध भएपछि कार्यसमिति र उपसमितिमा रहेर व्यक्तित्व विकास गर्ने अवसर पाएको बताउँछन् । निर्मलाको अनुभव पनि त्यस्तै छ । उनी भन्छिन्, “मलाई दुईचार जनासामु धक फुकाएर बोल्न निकै समस्या हुन्थ्यो। समितिमा बसेर काम गर्न थालेपछि नियमित बोल्ने बानी पर्‍यो ।”

चितवनको अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मीना बुढाथोकी २०५६ सालमा सहकारी सञ्चालन गर्दा कैयौँ महिलाहरूले मासिक २० रुपैयाँ पनि जोहो गर्न नसक्ने अवस्थामा रहेको बताउँछिन् । तर अहिले घरको समस्या टार्न सक्ने बनेपछि महिलाहरू भेला र कार्यक्रममा नियमित आउन थालेको उनको भनाइ छ ।

उनी भन्छिन्, “तीन लाखसम्मको बिनाधितो ऋणमार्फत् परिवारको समस्या टार्न सक्ने भएपछि सहकारीका बैठक तथा कार्यक्रममा दिदीबहिनीहरू नियमित आउन थाल्नुभएको छ। पहिला त सहभागी पाउनै समस्या हुन्थ्यो ।”

व्यक्तित्व विकास
बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बाहेक महिलाहरूले व्यक्तित्व विकासको अवसर पनि पाएको कतिपय सहकारी सञ्चालक बताउँछन् । सहकारीले नेतृत्व विकासका लागि तालिम र अवसर दिने गरेको चितवनकै शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

आफ्नो संस्थामा सदस्य बनिसकेका कतिपय महिलाहरूमा राजनीतिक सचेतना बढेको उनको भनाइ छ । त्यसमध्ये कतिपय महिलाहरू स्थानीय‚ प्रदेश र सङ्घमा सरकारका पदाधिकारी समेत बनेको उनको दाबी छ । उनी भन्छिन्, “नेतृत्वको तालिम नलिएको भए हामी पनि सहकारी सञ्चालन गर्न सक्दैनथ्यौँ। अग्रणी भूमिकामा हुँदैनथ्यौँ ।”

महिला वर्चस्व
सहकारी विभागले २०७७ साउनमा गरेको एउटा अध्ययन प्रतिवेदनअनुसार नेपालमा कुल २९‚ ८८६ वटा सहकारी सञ्चालनमा रहेका छन् । ती संस्थामा आबद्ध सदस्यहरूमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् । सहकारीमा रोजगारी पाउनेमा पनि महिलाकै बाहुल्य रहेको बताइन्छ ।

बागलुङको सीवाईसी सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने महिलाहरूमा सहकारीका कारण जागरुकता बढेको र उनीहरूको रोजगारीमा पनि मद्दत पुगेको बताउँछन् । उनी भन्छन्, “पहिले ‘पढ्न हुँदैन’ भन्ने महिलाहरू अहिले पढ्न थाले। ‘घरबाट निक्लन हुन्न’ भन्नेहरू निक्लेर विभिन्न सङ्घसंस्थामा विभिन्न पदमा रहेर जिम्मेवारी लिन सक्ने भए ।”

वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या धेरै भएकाले पनि सहकारीमा महिला सदस्यता बढेको हुनसक्ने न्यौपाने बताउँछन् ।

निरक्षरलाई अक्षर चिनाउने सहकारी
कास्कीको पोखरा रोयल सहकारीले निरक्षर महिलालाई अक्षर चिनाउँदै उद्यमी बनाउने काम गरिरहेको उक्त सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए । उनले भने, “हामीले ५०० जनाभन्दा बढी महिलाहरूलाई प्रौढ शिक्षार्फत् साक्षर बनायौँ ।”

कुल सदस्यमध्ये ७० प्रतिशत महिला रहेको बताइएको उक्त सहकारीको अहिलेको नेतृत्वमा पनि महिला नै छन् । नेतृत्वकर्ताको रूपमा रहेकी रुद्रकुमारी गुरुङ धेरैभन्दा धेरै महिलालाई फाइदा पुग्ने गरी कार्यक्रमहरू सञ्चालन गरिएको बताउँछिन् ।

“आफ्नो घरको फोन नम्बर लेख्न र भन्न नजान्ने कतिपय महिलाहरू प्रौढ कक्षापछि सामान्य लेखपढ गर्न सक्ने हुनुभएको छ,” उनी भन्छिन्, “हाम्रै संस्थाका ९९ जना दिदीबहिनीहरूले मिलेर एउटा भोजनालय पनि सञ्चालन गरिरहनुभएको छ। त्यहाँ काम गर्ने पनि महिला नै धेरै छन् ।”

नेतृत्व तहमा महिला
सहकारीमा महिलाको सहभागिता बढ्दाबढ्दै पनि अझै नेतृत्व तहमा महिला सहभागिता कम रहेको कतिपयको भनाइ छ । त्यसको कारण पुरुषले नेतृत्वमा पुग्न महिलालाई अवसर दिँदैनन् भन्ने कैयौँको भनाइ छ ।

गुरुङ भन्छिन्, “तर सहकारीमा यो कुरा पूरै सत्य हो भन्ने लाग्दैन। नेतृत्व तहमा जाने सपना र सोच महिलाहरूले पनि बनाउन जरुरी देख्छु। महिलाले नेतृत्व गर्न सक्दैन भन्नेमा मलाई कति पनि विश्वास छैन ।”

प्रचलित कानुनअनुसार सहकारीको नेतृत्व तहमा पनि ३३ प्रतिशत महिला हुनुपर्ने भए पनि कतिपयमा त्यो लागु नभएको जानकारहरूको भनाइ रहेको बिबिसीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया