ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन

  बैशाख १०, २०७९

रत्ननगर, वैशाख १० : चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरूको राष्ट्रिय सम्मेलनले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय अर्थोडेन्टिक चिकित्सक सहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरूको राष्ट्रिय सम्मेलनले चिकित्सकलाई ग्रामीण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् । अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एशोसिएशन अफ नेपालका अध्यक्ष डा दशरथ काफ्लेले ग्रामीण क्षेत्रमा दाँत, मुखको स्वास्थ्यसम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकले ग्रामीण क्षेत्रमा जानुपर्ने बताउनुभयो । “पछिल्लो समय ग्रामीण क्षेत्रमा मुख स्वास्थ्यसम्बन्धी बिरामी बढ्दै गइरहेको छन्”, डा काफ्लेले भन्नुभयो, “हामी चिकित्सक ग्रामीण क्षेत्रमा गएर स्वास्थ्योपचारसँगै उनीहरूमा जनचेतना जगाउने काम गर्नुपर्छ ।”

नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरू सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले जथाभावी दाँतको उपचार नगर्न सुझाव दिँदै सम्बन्धित विषय विशेषज्ञ चिकित्सकसँग उपचार गराउन जोड दिनुभयो । वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेशका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा चिकित्सा पद्धतिमा गुणस्तर वृद्धि, अनुसन्धानमूलक कार्यक्रम, नयाँ प्रविधिबारे छलफल भएको सहसंयोजक डा पूजा कोइरालाले बताउनुभयो । दाँतको समस्यासँगै अर्थोडेन्टिक उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज, अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण भएको कोइरालाले बताउनुभयो । दन्त चिकित्सा चिकित्सक शास्त्रको एक प्रमुख अङ्ग हो । दन्त चिकित्सामा जम्मा आठवटा हाँगा हुन्छन्, त्यसमध्ये बाङ्गाटिङ्गा छिद्रा भएको, दाँत बाहिर भएको गिँजा देखिने समस्यालाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।

तपाईको प्रतिक्रिया