कैलाली, वैशाख ८ : नेपाल पुलिस क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनलमा पुगेको छ ।
धनगढी रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसले वनदेवीमाथि ३–० अन्तरले हराएर फाइनलको यात्रा तय गरेको हो ।
पुलिसलाई फाइनलमा पु¥याउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको चार मिनेटमा अग्रता कायम ग¥यो । खेलको ४९औँ मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
खेलको ६५औँ मिनेटमा निर्मलाले व्यक्तिगत गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् । त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेनन् । पुलिस सानदार जीतसहित फाइनल पुग्न सफल भयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक ‘प्लेयर अफ द म्याच’ भइन् । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरिन् । वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार फाइनल खेल हुनेछ । फाइनल खेल शनिबार साँझ ६ः३० बजे दुई विभागीय टोली एपिएफ र पुलिस भिड्नेछन् ।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा तीन विभागीयसहित आठ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद रु पाँच लाख र उपविजेताले ट्रफीसहित रु दुई लाख ५० हजार पुरस्कार राशि प्राप्त गर्नेछ ।
प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ लाई रु पाँच हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीले नगद रु ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।