गुल्मी, वैशाख ६ : गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले संयुक्त लगानी गर्नुपर्नेमा प्रतिबद्धता जनाएका छन् । गुल्मीमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्लाको पर्यटन विकासका लागि वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेल, होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवाली, पर्यटन व्यवसायी निश्चल श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष श्रीप्रसाद भलामी र कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरलगायतका उपस्थित व्यवसायीहरुले पर्यटन क्षेत्रको विकासका लागि संयुक्त लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
गुल्मीको पर्यटन माग र साहसिक पर्यटनसम्बन्धी वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेलले जानकारी गराउनुभयो । “पर्यटक आउने र जाने मात्र नभई पर्यटकले खर्च गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ ।” पर्यटन व्यवसायी कँडेलले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा व्यवस्थापन हुनु जरुरी छ । पर्यटन क्षेत्रमा चुनौती भए पनि उत्तिकै फाइदा हुने गर्दछ ।”
गुल्मीको पर्यटनमा लगानी, चुनौती र स्थानीयको भूमिकासम्बन्धी होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवालीले जानकारी गराउनुभयो । “सबै मिलेर व्यवसाय गरेमा अनिवार्य सफल हुन सकिन्छ ।” ज्ञवालीले भन्नुभयो, “आन्तरिक कृषिलाई पर्यटनसँग जोड्न आवश्यक छ ।” आफूहरुले देशभर होटल पौवाका एक सय शाखा विस्तार गर्ने गरेर लागेको बताउनुभयो ।
पर्यटन व्यवसाय सञ्चालन, रोजगारी, सम्भावना र व्यवस्थापनसम्बन्धी पर्यटन व्यवसायी निश्चल श्रेष्ठले प्रस्तुति राख्नुभयो । पर्यटन व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्रले विश्वभर १० प्रतिशतमा रोजगारी दिएको कारणले पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “पर्यटन क्षेत्रमा सामान्य लगानीमा पनि राम्रो काम गर्न सकिन्छ । पर्यटनसँग जोडिएका उद्योगहरु सञ्चालन गर्न सजिलो छ ।” पर्यटन क्षेत्रले गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने भएकाले होटल व्यवस्थापन कक्षा जिल्लामा सञ्चालन गर्न आफू तयार रहेको बताउनुभयो ।
लगानीका लागि बैंकर्स एसोसिएसनका तर्फबाट आनन्द उपाध्याय र कालिदास पाण्डेले बैंकले लगानी गर्न तयार रहेको बताउनुभयो । कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरले गुल्मीमा पर्यटक नआउने कारणको अध्ययन गर्नपर्ने आवश्यक रहेको बताउनुभयो ।
“हामीसँग भएको स्रोत साधनलाई उच्चतम प्रयोग गरेर पर्यटक ल्याउन सकिन्छ ।” कुँवरले भन्नुभयो, “पर्यटकीय क्षेत्रलाई भत्काउने र बिगार्ने नगरिकन पर्यकटकलाई आकर्षित गर्न सकिन्छ ।” भएको स्रोतसाधनलाई उच्चतम प्रयोग गर्न सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेमा उहाँको दाबी छ ।
टिप्पणीकर्ता उद्योग वाणिज्य सङ्घका गुल्मीका पूर्वअध्यक्ष श्रीप्रसाद भलामीले एक्लो भएर व्यवसाय गर्ने युग हराइसकेकाले सबै मिलेर संयुक्त व्यवसाय गर्नुपर्ने बताउनुभयो । “लगानीकर्तालाई आकर्षित गरेर जिल्लामा व्यवसायलाई अगाडि बढाएर पर्यटनको सङ्ख्या वृद्धि गर्न सकिन्छ,” टिप्पणी गर्दै भलाद्मीले भन्नुभयो, “लगानी लगाएर शिक्षा र स्वास्थ्यमा विकास गरेर आन्तारिक पर्यटक र बाह्य पर्यटक भित्र्याउन सबै लाग्नुपर्दछ ।” उहाँले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।
गुल्मी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको अवसरमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी छलफल गरेको वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।