‘कार्यकारी महिला, कामकाजमा सजिलो’

  बैशाख ०३, २०७९

बलेवा, वैशाख ३ : स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अप्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्नुहुन्छ । महिलाका लागि आवश्यक तालिम, कृषिका लागि आवश्यक उपकरण र अरु योजना माग्न धनमाया निर्धक्क वडा कार्यालय पुग्ने गर्नुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी धनमाया मात्रै होइन, यहाँका महिला वडा कार्यालय पुगेर खुलेर आफ्ना कुरा राख्छन् । वडाले विनियोजन गर्ने योजना मात्रै होइन, सिफारिसका सेवा लिन पुरुषको तुलनामा महिला नै बढी पुग्ने गरेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला जिल्लाका ८५ वडामध्ये दुई वटा वडामा महिला अध्यक्ष निर्वाचित हुनुभयो ।

दुई महिलामध्येकी हुनुहुन्छ, वडाध्यक्ष चित्रकला छन्त्याल । छन्त्याल निर्वाचित भएपछि वडामा पुगेर आफ्ना माग राख्न र काम गर्न सजिलो भएको धनमाया बताउनुुहुन्छ । “पुरुषको तुलनामा महिला प्रमुख हुँदा हामी महिलालाई धेरै सजिलो हुने, कम्तीमा आफ्ना समस्या खुलेर राख्न पाइन्छ”, उहाँ भन्नुहुन्छ, “कतिकुरा पुरुषलाई भन्न सकिँदैन, महिलालाई सहजै भन्न सकिन्छ, म मात्रै होइन धेरै बोल्नै नसक्ने महिला वडाध्यक्षसँग निर्धक्क कुरा गर्छन् ।”

बागलुङ नगरपालिका–३ की सीता शर्मा गौतमलाई पनि महिला वडाध्यक्ष हुँदा निकै खुसी लागेको थियो । पाँच वर्ष समय बितिसक्दा उनले वडाध्यक्षको कार्यकक्षमा पुगेर कहिलै आफ्ना भनाइ नराखी फर्किनुपरेन । वडाध्यक्ष लक्ष्मी बास्कोटा जिल्लाका दुई वडाध्यक्षमध्येकी अर्की हुनुहुन्छ । पालिकाका उपप्रमुखमा केही पालिकामा महिला भए पनि जनतासँग नजिकको सरकार वडामा महिलाको उपस्थिति कम छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वडादेखि पालिकाको नेतृत्वसम्म उमेदवारको चर्चा सुरु भएको छ तर, विडम्बना अधिकांश वडा र पालिकामा संविधानले व्यवस्था गरेबाहेकका पदमा महिलाको चर्चा कम छ । “हामी नेतृत्व गर्न तयार छौँ, काम गर्न सकिन्छ भन्ने लाग्छ”, काठेखोला गाउँपालिका–८ की वडाध्यक्ष चित्रकला छन्त्याल भन्नुहुन्छ, “महिलालाई उम्मेदवार बनाउन दलहरु किन हिच्किचाउँछन् थाहा छैन ।”

वडा तहमा नेतृत्व गरिसकेका महिलालाई स्थानीय तहको माथिल्लो तहमा पुर्‍ययाउनुपर्ने महिला नेतृ बताउँछन् । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घले आफ्नो छैटौँ अधिवेशनबाट कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेको छ । अखिल नेपाल महिला सङ्घजस्तै विभिन्न पार्टी निकट महिलाका सङ्गठनले माग गर्ने गरेका भए पनि उम्मेदवार छनोटको प्रारम्भिक चित्र हेर्दा यो पटक पनि महिलाको सहभागिता कम हुने निश्चितजस्तै छ ।

प्रतिपक्षी दल एमालेसहित सत्ता गठबन्धले वडा र पालिका तहमा चलाइरहेको छलफल र उम्मेदवारका आकाङ्क्षीमा महिलालाई हेर्दा सहभागिता कम हुने देखिएको हो । सबै पार्टीमा उम्मेदवारको अन्तिम टुङ्गो नलागेकाले अन्तिमसम्ममा महिलाको सहभागिता सुनिश्चित गर्न महिला नेतृले भने माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया