झापा, वैशाख ३ : झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ ।
सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो दिएको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रनको लक्ष्य खडा गर्दा अन्तर्राष्ट्रिय खेलाडी पवन सरार्फले ४३ बल खेलेर ५४ रन बनाए । प्रनिश विमलीले २५, भूपाल डाँगीले १९ र शुभाङ्कर उराउले १६ रन जोडे ।
बलिङतर्फ विराटका विवेक आयद, सिद्धान्त लोहनी र सुमित न्यौपानेले दुई–दुई तथा आभाष तिम्सिना र विपीन महतोले एक–एक विकेट झारे । सनराइजले दिएको लक्ष्य विराटले १६ दशमलव चार ओभरमा पूरा ग¥यो । सोनु अन्सारीले ३३ बलको सामना गरेर ५४ रन जोडे । त्यस्तै अनिल लामिछानेले ३४, सिद्धान्त लोहनीले १६ बलमा ३३ तथा अन्तिम सुवेदीले १५ रन बनाए ।
बलिङमा सनराइज काँकडभिट्टाका विराट डाँगी र शुभङ्कर उराउले एक–एक विकेट लिए । अलराउण्डर प्रदर्र्शन गर्ने विजयी टोलीका सोनु म्यान अफ दि म्याच बने । क्यानका सल्लाहकार नरेश श्रेष्ठले उनलाई रु तीन हजार नगद पुरस्कार हस्तान्तरण गरे ।
जिल्लामै पहिलोपटक आयोजना भएको यो प्रतियोगितालाई मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । आइतबार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सबीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल आयोजना हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले बताउनुभयो । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना र शिवशक्ति ग्रुपको रसोइ तोरी तेलले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लाका पाँचवटा क्लबको सहभागिता रहनेछन् ।