काठमाडौँ, चैत ३० : नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मुलुकको व्यावसायिक क्षेत्रको समग्र विकासका लागि निर्यात प्रवद्र्धनलाई बढाउनुपर्ने बताएको हो ।
चेम्बरले कृषि क्षेत्रको प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरणका लागि व्यवस्था, आयातलाई व्यवस्थित गरी निर्यात प्रवद्र्धन गर्नेलगायत सुझाव मन्त्रीलाई दिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । “सरकारलाई जस्तोसुकै परिस्थितिमा पनि निजी क्षेत्रले सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि हातेमालो गर्न तयार छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउनुको जरुरी रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले विदेशमा सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिने बताएको छ । यस्तै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न पिपिपी अवधारणामा सञ्चालन हुने जलविद्युत् तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका लागि बैंङकिङ च्यानलबाट आउने कुल विप्रेषणको १० प्रतिशत रकम विपे्रषण आप्रवाह कोष खडा गरी सो कोषमार्फत उक्त परियोजनाको आइपिओ र एफपिओमा लगानी गर्न सुरक्षण प्रदान गर्नुपर्ने जनाएको छ ।
चेम्बरले पछिल्लो समय व्यापार घाटाको मुख्य कारण बनेको इन्धनको आयात न्यूनीकरणका लागि विद्युतीय उपकरणको प्रयोग अधिकतम बढाउने गरी नीतिगत व्यवस्था हुनुपर्ने बताएको छ ।
भेटका क्रममा मन्त्री बडूले मुलुकको आर्थिक समृद्धि र विकासको साझा लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र भाडामा लिएर पनि प्रयोग नभएको पाइएकाले त्यस्ता क्षेत्रमा उद्योग चलाउने वातावरण बनाउने बताउनुभयो । मन्त्री बडूले उच्चस्तरीय प्रयोगशाला निर्माण तथा उद्योगमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।