कास्की, चैत २९ : गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्नेभएको छ ।
आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशाला भित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । ‘दैनिक १ घण्टा व्यायाम’ नारासहित नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित सो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा नेपालका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्वराष्ट्रिय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्ने छन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट छ र काठमाडौँबाट आठ टिमको सहभागिता निश्चित भएको बताइन्छ । वालिङ, सिमरा, हेटौँडाबाट गरी १९ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले रु ३०/३० हजार नगद पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रु २० हजार राशि पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद रु १५-१५ हजारका दरले पुरस्कार पाउने जनाइएको छ । प्रतियोगिताको लागि रु आठ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदमा बजेट वृद्धि गर्नुपर्ने बताउँदै खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नुहुन्न, खेलकुदमा गरेको लगानीको प्रतिफल आउँछ भन्ने सबै स्पष्ट हुनु आवश्यक छ ।
उहाँले देशका विभिन्न स्थानबाट प्रतियोगितामा सहभागी हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।