लमजुङ, चैत २८ : यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् । तीमध्ये उक्त सङ्ख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।
प्रतिव्यक्ति रु ५७७ का दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाका रोजगार उहाँको भनाइ छ । यस कार्यक्रमका लागि कूल बजेट रु दुई करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताउनुभयो ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका आधारमा जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सो सङ्ख्यालाई अतिसंवेदनशीलका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । उक्त २२ मतदानस्थललाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ वटा मतदानस्थललाई साधारण रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । एक सय २३ मतदानस्थलमध्ये दूधपोखरी, क्व्होलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा रहेका मतदानस्थल बढी अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनुभयो ।