जुम्ला–रारा अल्ट्रा म्याराथन पुरस्कार बुढा र भण्डारीलाई

  चैत २७, २०७८

जुम्ला, चैत २७ : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्लादेखि रारासम्मको म्याराथनको ४९ किलोमिटर दूरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ जुम्लाकै धावक दुर्गबहादुर बुढाले प्रथम हुँदै उपाधि चुम्नुभएको हो ।

महिलातर्फ पनि जुम्लाकै धाविका शारदा भण्डारी बुढाले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभयो । पुरुषतर्फ द्वितीय हुनेमा दलबहादुर बुढा, ५ घण्टा ५ मिनेट ४८ सेकेण्ड, तृतीय बेदबहादुर शाही र चन्द्र रावल र ७ जना पुरुषतर्फ सान्त्वना भएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

उहाँकाअनुसार महिलातर्फ द्वितीय गणना भण्डारी ४९ किमी दूरी ६ घण्टा ५९ मिनेटमा पार गर्नुभएको छ । तृतीय मन्जु रावत र उमाकली बुढासहित ७ जना भएका छन् । कर्णालीको पर्यटन प्रवर्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको ४९ किमी दौडमा भारतका एक जनासहित नेपालको १० जिल्लाका ७७ जना खेलाडीको सहभागिता थियो ।

जसमा महिला पुरुषतर्फ जुम्लाकै धावक र धाविकाले उपाधि जित्न सफल भएका छन् । म्याराथनको उपाधि जित्नेलगायत टप १० भित्र पर्ने सबै खेलाडिलाई पर्यटकीय स्थल मुगुको रारातालमा आइतबार बिहान पुरस्कार वितरण गरिएको छ ।

म्याराथनको ४९ किमी दौडमा प्रथम हुने दुर्गबहादुर बुढाले कर कट्टीसहित नगद एक लाख २३ हजार पाँचसयसहित मेडल, प्रमाणपत्र ट्रफि प्राप्त गर्नुभयो । द्वितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।
त्यस्तै महिलातर्फ पनि प्रथम हुने शारदा भण्डारी बुढाले नगद एक लाख २३ हजार पाँचसय पदक, प्रमाणपत्र ट्रफी पाएकाे पाउनुभएको छ । द्वितीयले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार वितरण गरिएको छ ।

रारामा मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, बरिष्ठ धावकहरु वैकुण्ठ मानन्धर, हरिबहादुर रोकाया, कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमाल, नेपाल राष्ट्रिय खेलकुद परिषदका एथलेटिक्स प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, हुम्ला जुम्ला गाडी कहिले पुग्छका गायकार बुद्धिमान तामाङसहितले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो ।

यसैगरी जुम्ला–रारा अल्टा म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम हुनुभयो । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम हुनुभयो । यसैगरी पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय हुनुभयो ।

पाँच किलोमिटरमा महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिममा बुढा तृतीय भएको कर्णाली स्पोट्र्स क्लबका शाहीले बताउनुभयो । यसैगरी खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय हुनुभयो । उहाँहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार वितरण गर्नुभयो ।

१६ वर्षमुनिको दौडमा विजेता खेलाडिलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपियाँ पुरस्कार प्रदान गरिएको छ । १६ वर्षमुनिको खेलमा १५६ जना खेलाडी सहभागी भएका थिए । ओपन ५ किमी दौडमा २ सय बढी खेलाडीले भाग लिएको आयोजकले जनाएको छ । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा भारतसहित नेपालका १० जिल्ला र जुम्लाका गरी झन्डै चार सय  खेलाडी सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया