काठमाडौं, चैत २५ : सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त खोप अभियान अभियान आजबाट वैशाख १८ गतेसम्म चल्नेछ ।
खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप अभियानपछि टाइइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ । सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ ।
नेपालका सम्पूर्ण बालबालिकालाई विभिन्न सरुवा रोगको विरुद्ध सुरक्षा प्रदान गर्न खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमुत्युदर घटाउन नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले पोलियो,दादुरा, हेपाटाइटिस बि, लहरेखोकी, धनुष्टंकार, निमोनिया जापानिज इन्सेफलाइटिस विरुद्ध खोप कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार कुन उमेरमा कुन खोप दिइन्छ
जन्मने बित्तिकै
राष्ट्रिय खोप तालिका अनुसार सरकारले बालबालिका जम्मने बित्तिकै बि सि जी खोप लगाउने गर्छ । यो बालबालिका जन्मने बितिकै स्वास्थ्य संस्थाहरुमा बच्चाको दायाँ पाखुराको माथिल्लो भागको छालाभित्र लगाइन्छ । यो खोपले क्षयरोगबाट बचाउछ ।
जन्मिएको ६ हप्तामा
खोप तालिका अनुसार जन्मिएको ६ हप्तामा डि पि टी हेप बी हिब खोप दिइन्छ । उक्त खोप बायाँ तिघ्राको मध्य बाहिरी भाग मासुमा लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी धनुष्टंकार, हेपाटाइटिस बी र हेमाफिलस इन्फ्लुइन्जा बी रोगबाट बचाउँछ ।
पोलियो पोलियो बालबालिकालाई मुखबाट खुवाइन्छ । यसले पोलियो रोगबाट बचाउँछ । पीसीभी पहिलो मात्रा खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यसले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको १० हप्तामा
जन्मिएको १० हप्तामा डीपीटी हेप बी हिब खोप लगाइन्छ । यो बच्चाको बाँया तिघ्राको मध्य बाहिरी भागको मासुमा लगाइन्छ । यसले भ्यागुते रोग, लहरे खोकी,धनुष्टंकार,हेपाटाइटिस बी र हेमोफिलस इन्फलुन्जा बी रोगबाट बचाउँछ ।
जन्मिएको १० हप्तामा बच्चालाई पोलियो मुखबाट खुवाइन्छ यसले पोलियो रोगबाट बचाउँछ । पीसीभी दोस्रो मात्रा खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यसले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको १४ हप्ता
जन्मिएको १४ हप्तामा डीपीटी हेप बी हिब तेस्रो मात्रा खोप दिइने खोप तालिकामा उल्लेख गरिएको छ। यो खोप बच्चाको बायाँ तिघ्राको मध्य बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी र हेमोफिलस इन्फलुन्जा बी रोगबाट बचाउँछ ।
जन्मिएको १४ हप्तामा बच्चालाई पोलियो मुखबाट खुवाइन्छ यसले पोलियो रोगबाट बचाउँछ । आई पि भी खोप लगाइन्छ । यो खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले पोलिया रोगबाट बचाउँछ ।
जन्मिएको ९ महिनामा
जन्मिएको ९ महिना पीसीभी तेस्रो मात्रा खोप लगाइने खोप तालिकामा उल्लेख गरिएको छ । उक्त खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको नौ हप्तामा दादुरा रुबेला पहिलोमात्रा खोप लगाइने खोप तालिमाका उल्लेख गरिएको छ । उक्त खोप बच्चाको बाँया पाखुराको माथिल्लो भागको छाला र मासकोु बीचमा लगाइन्छ । यस खोपले दादुरा र रुबेला रोगबाट बचाउँछ ।
जन्मिएको १२ महिनामा
जन्मिएको १२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने खोप तालिकामा उल्लेख गरिएको छ। उक्त खोप बच्चाका दायाँ तिघ्राको माथिल्लो बाहिरी भागको छाला र मासुको बीचमा लगाइन्छ । यस खोपले जापानिज इन्सेफलाइटिस रोगबाट बचाउँछ ।
जन्मिएको १५ महिनामा
जन्मिएको १५ महिनामा दादुरा रुबेलाविरुद्धको दोस्रो मात्रा खोप लगाइन्छ । उक्त खोप बच्चाको बायाँ पाखुराको माथिल्लो भागको छाला र मासुको बीचमा लगाइन्छ । यो खोपले दादुरा र रुबेला रोगबाट बचाउँने गोरखापत्र अनलाइनमा उल्लेख छ ।