काठमाडौं, चैत २४ : नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो ।
काठमाडौंको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।
उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो ।