गोरखा (लाप्राक), चैत २४ : २०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म गोरखाको उत्तरी गाउँ धार्र्चेका लाप्राकीसँग ६० भन्दा धेरै भेडीगोठ थिए । भेडाबाट हुने आम्दानीले वर्षभरिको अन्न जोहो गर्ने र चाडपर्व मनाउने लाप्राकीसँग हिजोआज मुस्किलले छवटा भेडीगोठ छन् ।
“फिरन्ते जीवन जिउनुपर्ने र दुःख धेरै पाइने भएपछि युवा पुस्ता भेडापालनप्रति आकर्षित छैनन्,” स्थानीय केशवराज गुरुङले भन्नुभयो । एक दशकअघिसम्म उहाँका दुईवटा भेडीगोठ थिए, अहिले छैन ।
एउटा भेडीगोठमा ४०० वटासम्म भेडा हुने पुर्णे गुरुङले बताउनुभयो । “कमाइ राम्रो हुने भए पनि दिनरात हिँड्नु पर्ने, खान र सुत्न नपाइने भएपछि धेरैले यसलाई मन पराउँदैनन् । लेकबेँसी गरिरहनुपर्ने र दुःख धेरै भएकाले अहिलेका केटाले यो काम गर्न नै खोजेनन्,” उहाँले थप्नुभयो ।
धेरै चिसो पनि नसहने र धेरै गर्मी पनि नरुचाउने भेडालाई वर्षभरि नै लेकबँेसी डुलाइरहनुपर्ने भएकाले बढी दुःख हुने धेरैजसोको अनुभव छ । “एउटा घुम्ती गोठबाट अर्काे घुम्ती गोठसम्म जान घण्टौँ लाग्छ, खान र बस्नको ठेगान हुँदैन । तत्कालै आम्दानी हुँदैन,” राजु गुरुङले थप्नुभयो ।
केही पाका उमेरका लाप्राकीले अझै पनि भेडापालन गरिरहेका भए पनि युवा भने यो पेसाबाट विस्थापन हुने स्थितिमा रहेको राजुले थप्नुभयो ।आफ्नो संस्कार र संस्कृतिसँग प्रत्यक्ष जोडिएको भेडापालन व्यवसाय विस्थापनको सङ्घारमा पुग्नु निकै दुःखदायी रहेको डेगबहादुर गुरुङले बताउनुभयो । हाम्रो जीवनशैली र रीतिरिवाज भेडासँग जोडिएकाले भेडापालनको संरक्षण र प्रवद्र्धनका लागि सरकारीस्तरबाट सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
संरक्षणमा गाउँपालिका गुरुङ जातिको चाडपर्व र रीतिरिवाजसँग भेडा जोडिने भएकाले त्यसको संरक्षणमा गाउँपालिकाले प्रयास सुरु गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले भेडापालनलाई प्रोत्साहन गरिरहेको छ । उहाँले चितवनमा हात्ती र गैँडा, बर्दियामा बाघ भनेजस्तै धार्चेको परिचय भेडा पनि भएकाले भेडीगोठ जोगाउन अनुदानका कार्यक्रम सुुरु गरेको जानकारी दिनुभयो ।
गुरुङ संस्कृतिसँग जोडिएको र आर्थिक रूपमा पनि भेडाको महत्त्व धेरै भएकाले गाउँपालिकाले लाप्राकमा भेडाको सालिक बनाएको छ । भेडा रहे मात्रै गुरुङका संस्कृति जोगिने भएकाले त्यसको संरक्षणमा आफूहरूले त्यसका लागि छिट्टै योजना ल्याउने गुरुङले भन्नुभयो ।
उहाँले भेडापालनसँगै त्यहाँ मानिसले जडीबुटी सङ्कलन गर्ने, मासु र लुगा बनाउन भेडा आवश्यक रहने भएकाले भेडीगोठ खाली हुँदा आम्दानीको स्रोत कम हुँदै जानु चुनौतीको विषय रहेको बताउनुभयो । लाप्राक मात्रै नभएर उच्च पहाडी क्षेत्रमा गरिने भेडापालनमा युवाको आकर्षण घट्दै गएको प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले बताउनुभयो । उहाँले हेर्दा सामान्यजस्तो देखिए पनि यसले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा असर पार्ने भएकाले भेडापालन प्रवद्र्धनमा सरकारी निकायले विशेष चासो दिन आवश्यक रहेको भन्नुभयो ।