नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

  चैत २०, २०७८

काठमाडौँ, चैत २० : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि आफूले वातावरण बनाउने बताउनुभयो ।

उहाँले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको बताउँदै उहाँले यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि आफूहरू तयार रहेको बताउनुभयो । सहजीकरणका लागि महासङ्घमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको उहाँले जानकारी गराउनुभयो ।अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताउनुभयो । कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो ।

सीआईआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उहाँले बताउनुभयो । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको नेपाल उद्योग वाणिज्यमहासङ्घले जनाएको छ । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे आफ्नो कुरा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया