हिमालयन हाइड्रो एक्स्पोमा जलविद्युत् प्रवद्र्धनमा बहुआयामिक छलफल हुने

  चैत १८, २०७८

काठमाडौँ, चैत १८ : जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सवै विषयवस्तुमा छलफल गर्न भोलि शनिबारदेखि यहाँ ‘हिमालयन हाईड्रो एक्स्पो’ आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नै एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आयोजना गरेको तीनदिने एक्स्पोको उद्घाटनअघि वृहत् विद्युतीय सवारी -याली पनि आयोजना हुनेछ । देशमा हालसम्मकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषयवस्तुमा विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञका बीचमा छलफल हुनेछ । पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजन ऊर्जाका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रविधिसम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दीक्षितले हाइड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतसम्बन्धी प्रस्तुति दिनुहुनेछ । डा सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा जानकारी दिनुहुनेछ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उपलब्ध नवीन प्रविधिबारे चर्चा गर्नुहुनेछ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ ऊर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

दोस्रो दिन चैत २० गते आइतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोही दिन नै दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्सारको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरूले छलफल गर्ने भएका छन् । तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरक्रिया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानलगायत व्यक्तित्व उक्त सेसनमा सहभागी हुनुहुनेछ ।

तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलगायत सहभागी हुने तय भएको छ ।

अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलस्रोत सिँचाइमन्त्री पम्फा भुसालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा कृष्णप्रसाद ओली र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनुहुनेछ ।

नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।

तपाईको प्रतिक्रिया