बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न

  चैत १५, २०७८

दमौली, चैत १५ : तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो ।

पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । रु दुई करोड पाँच लाख ५७ हजार १४४ को लागतमा पुल निर्माणको काम सकिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । १९.८ मिटर लामो पुलको चौडाइ छ मिटर रहेको छ ।

उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताउनुभयो । वर्षाका बेला यो खेला निकै ठूलो हुन्छ । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो । वर्षौँदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ ।

वडाध्यक्ष भूपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । बाटो बने पनि पुल नहुँदा सवारी आउजाउमा समस्या भइरहेको बताउँदै पुल बनेपछि विकास र स्थायित्वको आवश्यकता पुष्टि भएको उहाँले बताउनुभयो ।

यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय भवन निर्माण सुरु भएको हो । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गर्नुभयो । सो अवसरमा थापाले वडा कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा असहजता भइरहेपनि भवन निर्माणपछि सहज हुने बताउनुभयो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकिएको उहाँले बताउनुभयो ।

रु एक करोड २२ लाख ६४ हजार ५५६ को लागतमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । विसं २०७९ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी भक्तपुरस्थित मायादेवी कन्स्ट्रक्शनले जिम्मा पाएको छ । दुई तलाको भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष कटकहादुर थापाले बताउनुभयो ।

सामुदायिक भवनमा सञ्चालित वडा कार्यालय साँघुरो हुँदा सर्वसाधारणलाई सेवा दिन कठिन भइरहेको थियो । “एकैचोटि धेरै सेवाग्राही आउँदा बस्ने ठाउँ पनि हुँदैनथ्यो, सेवा प्रवाह दिन कठिन भइरहेको छ, नयाँ भवन बनेपछि सहजरूपमा सेवा दिन सक्छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा दुईवटा भवनको उद्घाटन गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पूर्वाधारयुक्त बनाउने उद्देश्यसहित सबै वडाका भवन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडा नं १, ४ र ५ को भवन निर्माण सम्पन्न भएको छ । वडा नं २ र ३ ले सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

यद्यपि उक्त भवनको भाडा भने तिर्नुपर्दैन । वडा नं ६ को भवन पनि छिट्टै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसमेत निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया